धनगढी । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका शाखाको आयोजनामा लैङ्गिक हिंसा प्रभावितको घटना व्यवस्थापन सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
महिला समुत्थान परियोजनाअन्तर्गत आयोजना गरिएको कार्यक्रममा सेभ हाउस, ओसीएमसी (वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर), जिल्ला प्रहरी कार्यालयको महिला सेल, प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ मेनुका बस्नेतले प्रशिक्षण दिँदै लैङ्गिक हिंसा, घरेलु हिंसा तथा मानव बेचबिखनका घटनामा पीडितमैत्री व्यवहार र प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । उनले पीडितको मनोविज्ञान बुझेर सेवा प्रवाह गर्न सके मात्र न्यायमा सहज पहुँच सुनिश्चित हुने उल्लेख गरिन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले सिद्धान्त र व्यवहारबीच अझै फरक अवस्था रहेको बताए । उनले लैङ्गिक हिंसा, घरेलु हिंसा तथा मानव बेचबिखनका मुद्दामा प्रहरीले निरन्तर काम गरिरहेको उल्लेख गर्दै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
ओसीएमसीबाट सहभागी सरिता चौधरीले पीडित व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको अनुभव सुनाइन् । उनले कतिपय अवस्थामा पीडितको सम्पूर्ण व्यवस्थापनदेखि दाहसंस्कारसम्मको जिम्मेवारीसमेत आफूहरूले वहन गर्नुपरेको भन्दै प्रदेश सरकारको थप सहयोग आवश्यक रहेको बताइन् ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माले पीडितहरू सबैभन्दा पहिले प्रहरीको सम्पर्कमा आउने भएकाले प्रहरीमार्फत सबै निकायबीच समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए । उनले पीडितसँग गर्ने व्यवहार नै न्याय प्रक्रियाको पहिलो आधार हुने बताए ।
सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख लोकेन्द्र प्रसाद भट्टलगायतको सहभागितामा सम्पन्न कार्यक्रममा सेवा प्रदायक निकायसँग घटना व्यवस्थापनका चुनौती, अनुभव र समाधानका उपायबारे छलफल गरिएको थियो ।
