शनिबार, जेष्ठ २, २०८३

महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच मिडिया भूमिकाबारे अन्तरक्रिया

धनगढी: महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच मिडियामा महिलाको प्रतिनिधित्व, पहुँच र प्रस्तुति विषयमा उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मिडिया एड्भोकेसी ग्रुप काठमाडौंको आयोजनामा “महिला राजनीतिकर्मी र सञ्चारकर्मीहरूसँगको मिडिया अन्तरक्रिया कार्यक्रम” धनगढीमा सम्पन्न भएको हो । कार्यक्रममा सुदूरपश्चिममा सक्रिय महिला राजनीतिकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा मिडियाले राज्यलाई खबरदारी गर्ने, सचेत गराउने र जनहितका विषय उजागर गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महिला राजनीतिकर्मीहरूलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो ।

सहभागी महिला नेतृहरूले मिडियामा आफ्ना गतिविधि र उपलब्धिहरू कम महत्वका साथ प्रस्तुत हुने गरेको गुनासो गरेका थिए । उनीहरूका अनुसार राजनीतिक समाचारमा पुरुष नेताहरूलाई बढी प्राथमिकता दिइने, निर्णयकर्ता तथा मुख्य पात्रका रूपमा पुरुषलाई नै प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ ।

छलफलका क्रममा महिलामाथि भएका सकारात्मक योगदान कम रिपोर्ट हुने र नकारात्मक विषयलाई मात्र बढी उजागर गरिने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरिएको थियो ।

कार्यक्रमलाई पत्रकार र राजनीतिकर्मी गरी दुई समूहमा विभाजन गरी गरिएको छलफलमा दुवै पक्षबीचको कम्युनिकेसन ग्याप मुख्य चुनौतीका रूपमा पहिचान गरिएको छ । पत्रकारहरूले महिला नेतृहरू समय दिन नमान्ने, सम्पर्कमा कठिनाइ हुने तथा स्पष्ट धारणा नआउने कारण समाचार संकलनमा समस्या हुने बताएका थिए ।

महिला राजनीतिकर्मीहरूले भने चिनजानको आधारमा समाचार लेखिने, सम्पादन तहमा महिला पत्रकारको पहुँच कम हुने तथा पुरुषलाई बढी प्रभावकारी रूपमा प्रस्तुत गरिने प्रवृत्ति रहेको आरोप लगाएका थिए ।

कार्यक्रममा सुशासन र मिडियाको भूमिकालाई सुदृढ बनाउनुपर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने तथा महिला नेतृहरूका समाचारलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।

साथै, नियमित संवाद र पारदर्शी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ । सम्पादन तहमा महिला पत्रकारको पहुँच वृद्धि गर्नुपर्ने विषय पनि उठाइएको थियो ।

कार्यक्रम मिडिया एड्भोकेसी ग्रुपका अनुसन्धानकर्ता उमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो भने लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ तथा महिला समुत्थान परियोजना र सामाजिक विकास मन्त्रालयसँग आबद्ध मेनुका बस्नेत विष्टले सहजीकरण गरेका थिए।