मङ्लबार, जेष्ठ १२, २०८३

“वडा सभापतिदेखि जिल्ला सभापतिसम्म हटाउन सक्नुहुन्छ ?” — गगनलाई मनिषको प्रश्न

जेष्ठ १०, धनगढी ।
नेपाली कांग्रेसको एकता र पुनर्जागरणका लागि आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा नेविसंघ कैलालीका जिल्ला अध्यक्ष मनिष कुँवरले कांग्रेस महामन्त्री गगन थापा प्रति कडा भाष्य गर्दै खुला चुनौती दिएका छन्।
भेलालाई सम्बोधन गर्दै कुँवरले पार्टीभित्र अनुशासन, संगठन र नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै गगन थापालाई “विशेष सभापति” भन्दै व्यंग्यसमेत गरे। उनले पार्टीभित्रको आन्तरिक अवस्था सुधार्न नसक्ने नेतृत्वले बाहिर परिवर्तनको नारामात्र दिएको आरोप लगाए।
कुँवरले भने,
“वडा सभापतिदेखि जिल्ला सभापतिसम्म कारबाही गरेर देखाउनुस्, देशभर पार्टीका कार्यक्रम सफल बनाएर देखाउनुस्, हामी जिन्दगीभर तपाईंलाई सभापति मान्न तयार छौं।”
उनले कांग्रेसभित्र गुटगत राजनीति, नेतृत्वबीचको अविश्वास र कार्यकर्ताको उपेक्षा बढ्दै गएको दाबी गर्दै अब भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको बताए। कार्यक्रममा उनले पार्टीभित्र युवाहरूको भूमिका कमजोर बनाइएको भन्दै नेतृत्व तहप्रति असन्तुष्टि पोखेका थिए।
भेलामा सहभागी नेता तथा कार्यकर्तामाझ कुँवरको अभिव्यक्तिले निकै चर्चा पाएको थियो। उनले पार्टी पुनर्जागरणका लागि नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने र कार्यकर्ताको भावना बुझेर अघि बढ्नुपर्ने धारणा राखे।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेतृ आरजु राणा देउवा को शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको थियो। कार्यक्रममा सहभागी नेताहरूले दुवै नेताको स्वास्थ्यमा चाँडो सुधार होस् भन्ने शुभकामना व्यक्त गर्दै पार्टी एकताका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए।
सुदूरपश्चिम प्रदेशस्तरीय उक्त भेलामा नेपाली कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ता तथा भ्रातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।