द दरबार स्कुलद्वारा श्री राजेन्द्र आधारभूत विद्यालयलाई अंग्रेजी माध्यमका पुस्तक वितरण
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ अन्तर्गत कोट खोडालबाडा स्थित श्री राजेन्द्र आधारभूत विद्यालय लाई द दरबार स्कुलले अंग्रेजी माध्यमका पुस्तक सहयोग प्रदान गरेको छ। विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरूका लागि करिब १०० थान अंग्रेजी माध्यमका पाठ्यपुस्तक हस्तान्तरण गरिएको हो।
उक्त शैक्षिक सामग्री समाजसेवी, ज्येष्ठ नागरिक निःशुल्क चिया घर अभियन्ता तथा द दरबार स्कुलका संस्थापक अध्यक्ष पृथ्वी शाह ले एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभएको थियो।
विद्यालयले यही शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको सन्दर्भमा प्राप्त पुस्तक सहयोगले शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण रावत ले यस सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक मञ्जु शाह ले ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा गुणस्तरीय शिक्षाप्रतिको आकर्षण बढाउन तथा नयाँ शैक्षिक आयाम थप्न यस्ता सहयोगी कार्यहरू अत्यन्त प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
शिक्षा क्षेत्रमा सहयोग र सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आएको द दरबार स्कुलको यस कार्यप्रति स्थानीय अभिभावक तथा शिक्षा प्रेमीहरूले प्रशंसा व्यक्त गरेका छन्।