१६ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डले सुकुमवासी, गरिब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा उनले वर्तमान सरकार गरिब, सुकुम्बासी तथा निमुखा वर्गको विरुद्धमा भएको आरोप लगाए ।
वर्तमान सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दाबी गर्दै उनले २०८२ साल भदौ २३–२४ गते भएको जेन–जी आन्दोलन योजनाबद्ध षड्यन्त्रको परिणाम भएको जिकिर गरे ।
साथै, कम्युनिष्ट शक्तिहरूलाई पुन: संघर्षका लागि तयार हुन आह्वान समेत उनको थियो ।
२०८२ सालको भाद्र २३ र २४ गते हाम्रो देशमा एउटा ठूलो विध्वंश भयो । यहाँहरुलाई थाहा छ, सर्वोच्च अदालत जल्यो, सिंहदरबार जल्यो, राष्ट्रपति भवन जल्यो, प्रधानमन्त्री निवास जल्यो । सारा अदालतदेखि लिएर प्रहरी कार्यालयहरू सबै जले, नेताहरूका घर खोजी खोजी जलाइयो, त्यो विध्वंशपछि संसदलाई बिना कारण विघटन गरियो, भएको संसदलाई विघटन गरेर अर्को संसद जन्माउनतिर लागियो । त्यसैमा एउटा खालको षड्यन्त्र थियो भनेर हामीले बुझ्न जरुरी छ,’ उनले भने, ‘त्यो षड्यन्त्रपछि आएको सरकार तपाईं हामीले देखिरहेका छौँ, सिद्धान्त छैन, विचार छैन, कार्यक्रम छैन, लक्ष्य छैन । अहिले त हेर्ने हो भने सुकुमवासी र गरिब, गरिब निमुखाको विरोधी पार्टी अहिले सरकारमा पुगेको देखिन्छ । त्यो अवस्था हामी व्यवहारबाट देखिरहेका छौं ।’
निर्वाचित संसदलाई विघटन गरेर कुनै सिद्धान्त, विचार, कार्यक्रम र लक्ष्य नभएको शक्तिलाई सत्तामा पुर्याउने काम भएको उनको भनाइ छ ।
हामी लामो लडाईं लड्यौं, निरंकुश पञ्चायतलाई फ्याँक्यौं । राजालाई संविधानभित्र बाँध्या थियौँ, निहुँ खोज्न आयो, त्यो राजालाई पनि बिदा गर्यौँ । सारा गरेर लडेर ल्याउने हामी, जसले पञ्चायत फ्याँक्नमा पनि कुनै योगदान दिएको छैन, राजतन्त्रको विरुद्ध पनि लडेको छैन, कुनै योजना, कुनै भुमिका छैन,’ उनले भने ।