आइतवार, जेष्ठ १७, २०८३

सीप, स्वरोजगार र आत्मनिर्भरता: धनगढीमा महिलामुखी तालिमको समापन

धनगढी, जेठ २७ — श्री खप्तड शिवपुरी सामुदायिक सिकाइ केन्द्र धनगढीको आयोजना तथा धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको सहयोगमा सञ्चालित १५ दिने कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न भएको छ।
धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका २० जना महिलाको सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष बुद्धि बहादुर खड्का, वडा सदस्य माया भण्डारी लगायतले टीका तथा माला लगाएर प्रमाणपत्र प्रदान गरेका थिए।
सामुदायिक सिकाइ केन्द्रकी सामाजिक परिचालक निर्मला कुमारी ओझाले तालिम सफलतापूर्वक सम्पन्न भएको बताउँदै सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्न सक्ने विश्वास व्यक्त गरिन्। उनले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताइन्।
कार्यक्रममा बोल्दै वडा सदस्य माया भण्डारीले तालिम केवल नामका लागि नभई महिलाहरूलाई फुर्सदको समयको सदुपयोग गर्दै सीप सिक्न र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको जानकारी दिइन्। सहभागीहरूले ‘ए लेभल’ तालिम पूरा गरिसकेको उल्लेख गर्दै आगामी दिनमा ‘बी लेभल’ तालिम सञ्चालनका लागि पहल गरिने बताइन्।
तालिमकी प्रशिक्षक बिष्णा कुमारी भट्टले धनगढीमा विभिन्न प्रकारका तालिम सञ्चालन भइरहे पनि बाहिरबाट प्रशिक्षक ल्याउने प्रवृत्ति रहेको भन्दै स्थानीय प्रशिक्षकलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। आफूले सम्बन्धित निकायमा दर्ता गरी करसमेत तिरिरहेको उल्लेख गर्दै स्थानीय प्रशिक्षकको क्षमता र अनुभवलाई सम्मान गर्नुपर्नेमा जोड दिइन्। साथै तालिम पूरा गरेका सबै महिला सहभागीहरूलाई शुभकामना व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बुद्धि बहादुर खड्काले महिलाहरूले तालिमबाट प्राप्त गरेको सीपलाई उद्यम र आयआर्जनमा रूपान्तरण गर्नुपर्ने बताए। यस्ता सीपमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो।
तालिममा सहभागी महिलाहरूलाई कुसन, डलका (गुडिया) लगायत पाँच प्रकारका सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको थियो। धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको १ लाख ५० हजार रुपैयाँ सहयोगमा सञ्चालन भएको उक्त तालिमपछि सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा लागू गर्दै स्वरोजगार र आयआर्जनका क्षेत्रमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।