भारत–नेपाल सीमा क्षेत्र गौरीफन्टामा तस्करीका कपडासहित एक नेपाली महिला पक्राउ परेकी छन्। भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सोमबार साँझ विशेष सूचनाको आधारमा कारबाही गर्दै ती महिलालाई नियन्त्रणमा लिएको हो।
एसएसबीका अनुसार सीमा स्तम्भ नम्बर ७५२ नजिकबाट भारतबाट नेपालतर्फ अवैध रूपमा रेडिमेड कपडा ल्याइँदै गरेको सूचनापछि जवानहरूले निगरानी बढाएका थिए। सोही क्रममा शंकास्पद अवस्थामा नेपालतर्फ जाँदै गरेकी एक महिलालाई रोकी जाँच गर्दा ठूलो परिमाणमा रेडिमेड कपडा बरामद गरिएको हो।
बरामद सामानमा ४९ थान कुर्ती, ५० थान प्लाजो सेट र १६ थान क्याट सेट रहेका छन्। उक्त कपडाको अनुमानित मूल्य भारतीय ३५ हजार रुपैयाँ रहेको बताइएको छ।
पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–२ निवासी ३७ वर्षीया देवकीकुमारी महर रहेको खुलाइएको छ। उनी जगतबहादुर महरकी श्रीमती हुन्।
एसएसबीले बरामद सामानसहित पक्राउ परेकी महिलालाई आवश्यक कागजी प्रक्रिया पूरा गरी थप कानुनी कारबाहीका लागि गौरीफन्टा कस्टम कार्यालयको जिम्मा लगाएको जनाएको छ।
भारत–नेपाल खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी कडा पारिएको एसएसबीले जनाएको छ।