बुधबार, जेष्ठ २०, २०८३

रासस धनगढीको नयाँ भवन निर्माणको शिलान्यास

धनगढी– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले धनगढी स्थित राष्ट्रिय समाचार समिति(रासस) प्रदेश कार्यालयको नयाँ निर्माण हुने भवनको मंगलबार शिलान्यास गरेका छन ।

सो अवसरमा मन्त्री सार्कीले भवन निर्माणपछि राससलाई समाचार समप्रेषणमा थप टेवा पुग्ने भई समग्र पत्रकारिताको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘प्रदेश सरकारको लगानीमा भवन निर्माण हुन लागेको छ, आगामी दिनमा पनि राससलाई प्रदेश सरकारको सकेजति सहयोग रहेनछ ।’ उनले निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो भवन निर्माण सम्पन्न गर्न आग्रह गरे ।

रासस प्रदेश कार्यालय धनगढीका प्रमुख सिद्धराज भट्टले भवन निर्माणका लागि भएको सहयोगप्रति प्रदेश सरकार,आन्तरिक मामिला तथा कानुन मन्त्रालयप्रति अभार सहित धन्यवाद व्यक्त गरे ।

उनले मन्त्रालयले बनाएको डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन)बमोजिम राससको भवन निर्माणको काम सम्पन्न गर्न आगामी आर्थिक वर्ष २०८३/८४मा पनि आवश्यक बजेट विनियोजन गरिदिन अग्रह गरे ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रलयले रासस भवन निर्माणका लागि गत वर्षनै डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) बनाएर स्वीकृत गरेको थियो । डिपिआर बमोजिम बन्ने अढाई तल्ले भवनका लागि झण्डै रु दुई करोड ३० लाख लागत इष्टिमेट रहेकोमा मन्त्रालयको चालु वर्षको वार्षिक विकास कार्यक्रम अन्तर्गत रासस भवन निर्माण शीर्षकमा विनियोजित रु ७० लाख बजेट रकमबाट भवन निर्माण सुरु गरिएको हो ।

डिपिआर बमोजिम टेण्डर आह्वान गरिएकोमा न्यूनतम् रकम अङ्क कबोल गर्ने पूर्वी हिमशिखर कन्ट्रक्शन ,कैलालीले ठेक्का पाएको छ । विस २०३४/३५तिर बनेको रासस धनगढीको एक तल्ले भवन जीर्ण अवस्थामा पुगेपछि नयाँ भवन निर्माणका लागि राससका निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको टोलीले दुई वर्षअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष भवन निर्माण सम्बन्धी प्रस्ताव पेश गरेको थियो ।