धनगढी, २७ जेठ / कैलालीको गेटा आँखा अस्पतालमा पछिल्लो समय देखिएको विवाद र कर्मचारी आन्दोलनबीच अस्पताल प्रशासनले आफ्नो बचाउका लागि सञ्चारमाध्यमको सहारा लिएको छ । आज दिनेश खबरमा प्रकाशित समाचारमा अस्पतालका कर्मचारीले पाउँदै आएको सेवा-सुविधा, तलब, बीमा लगायतका विषयलाई प्रमुखताका साथ उल्लेख गरिएको छ।
समाचारमा सहायक स्तरका कर्मचारीले मासिक ५५ हजार १६४ रुपैयाँसम्म तलब पाउने, अधिकृत तहका कर्मचारीले ५५ हजार ८९४ देखि ९० हजार ७६ रुपैयाँसम्म पारिश्रमिक बुझ्ने विवरण प्रस्तुत गरिएको छ। साथै कर्मचारीहरूको जीवन तथा दुर्घटना बीमामा अस्पतालले ठूलो रकम व्यहोर्ने गरेको तथ्य पनि समेटिएको छ।
तर आन्दोलनरत कर्मचारी र केही स्थानीयले भने यो समाचारलाई प्रशासनको बचाउको प्रयासका रूपमा हेरेका छन्। उनीहरूको तर्क छ; कर्मचारीले उठाएका मुख्य प्रश्नहरू सुशासन, पारदर्शिता, नियुक्ति प्रक्रिया र संस्थागत व्यवस्थापनसँग सम्बन्धित छन्। तर ती विषयको जवाफ दिनुको सट्टा प्रशासनले कर्मचारीले पाउने तलब–सुविधालाई अगाडि सारेर आन्दोलनको औचित्यमाथि प्रश्न उठाउने प्रयास गरेको छ।
स्थानीयवासीहरूका अनुसार अस्पतालमा विगतमा सार्वजनिक विज्ञापनबिनै कर्मचारी भर्ना गरिएका, पछि उनीहरू स्थायी भएका तथा एकै परिवारका तीन–चार सदस्यसम्म कार्यरत रहेको विषयबारे समेत गम्भीर प्रश्न उठ्दै आएका छन्। यस्ता आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बेला कर्मचारीको सेवा–सुविधामात्र प्रचार गरिनु प्रशासनको रणनीतिक बचाउ भएको अस्पताल प्रशासनसँग सन्तुष्ट कर्मचारी र स्थानीयहरूले बताएका छन्।
४३ वर्षदेखि सुदूरपश्चिममा आँखा उपचार सेवाको महत्वपूर्ण केन्द्रका रूपमा रहेको गेटा आँखा अस्पताल अहिले आन्तरिक विवादका कारण चर्चामा छ। कर्मचारी, स्थानीय समुदाय र सरोकारवालाले संस्थाको भविष्यप्रति चिन्ता व्यक्त गरिरहेका बेला प्रशासनले आलोचनाको जवाफ पारदर्शी रूपमा दिनुपर्ने माग भइरहेको छ।
यस्तो अवस्थामा उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा सञ्चारमाध्यममार्फत आफ्नो पक्ष बलियो देखाउने प्रयास गरिनु समस्या प्रति अस्पताल प्रशासन गम्भीर नहुनु पनि हो। आन्दोलनका मूल मुद्दाको सम्बोधन गर्न नसकेपछि प्रशासनले आफू जोगिन दिनेश खबरको सहारा लिएर स्पष्टीकरण दिन खोजिएको जस्तो समाचारमा उल्लेखित विषयवस्तुहरूले प्रष्ट पार्छ।
गेटा आँखा अस्पतालको किचलो मिडियासम्म कसरी पुगेको थियो ? वास्तविकता के हो ?
दिनेश खबरमा लेखिएजस्तो कुनै कर्मचारीले बोलाएर मिडिया गेटा आँखा अस्पतालमा रिपोर्टिङ गर्न पुगेको भने पक्कै होइन सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनले कर्मचारीहरूले मानव अधिकार आयोगमा उजुरी गरेपछि मानव अधिकार आयोगले गेटा आँखा अस्पताल प्रशासनलाई स्पष्टीकरण सोधेको स्पष्टीकरण पत्र भेटाएपछि स्वस्फूर्त रुपमा यस विषयलाई प्रमुखता दिएर रिपोर्टिङ गरिएको हो।
गेटा आँखा अस्पतालमा जानुभन्दा पहिला नै अस्पतालका चिकित्सा निर्देशक सुरेशराज पन्तसँग जानकारी लिँदै समाचार सम्प्रेषण गरिएको थियो।
माथिको समाचार सम्प्रेषण गरेपछि थप जानकारीका लागि सुदूरपत्र अनलाइनबाट र सनराइज टेलिभिजनबाट संयुक्त रुपमा रिपोर्टिङका लागि जेठ १९ गते गेटा आँखा अस्पताल परिसरमा पुगेका थियौँ।
हामी पुग्दा गेटा आँखा अस्पतालमा प्रशासन, कर्मचारी र स्थानीयहरू बीच वादविवाद भइरहेको थियो। सोही वादविवादलाई मिडियाकर्मीहरूले कैद गर्न खोज्दा प्रशासन प्रमुख दीर्घबहादुर चन्दले रोक्न समेत खोजेका थिए। यसपछि क्रमिक रूपमा बुझ्दै जाँदा अस्पतालका बारेमा विस्तृत सामग्रीहरू सम्प्रेषण भएका थिए।
दिनेश खबरमा उल्लेख भएजस्तो त्यहाँ पुगेको मिडिया सुदुरपत्र अनलाइ र सनराइज टेलिभिजन कसैको आग्रह वा पूर्वाग्रहमा गएको भने होइन ।