२८ जेठ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गण्डकी प्रदेशको प्रथम अधिवेशन २९ जेठमा पोखरामा हुँदैछ । अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले सभापति पदको प्रतिस्पर्धा यतिबेला चर्चाको केन्द्रमा छ ।
सभापति पदका लागि वर्तमान सभापति तथा संघीय सांसद राजन गौतम, प्रदेश महामन्त्री नवीन त्रिपाठी, गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिशरण आचार्य र नेता माधव कँडेल मुख्य आकांक्षी छन् । साथै डा। हरि कार्की र नेपाली कांग्रेसका पूर्वनेता तथा संघीय सांसद एवं पूर्वमन्त्री कुमार खड्काको नाम पनि सभापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चा भएको छ ।
नेपाल विद्यार्थी संघबाट राजनीति थालेका खड्कापछि क्षेत्री समाजको नेतृत्व गर्दै, जातीय पहिचानसहितको संघीयताको विरोधमा आन्दोलन चर्काउँदै राष्ट्रिय अखण्ड पार्टी खोलेर दोस्रो संविधान सभामा सांसद तथा मन्त्रीसमेत बनेका खड्का २०७४ को चुनावअघि कांग्रेसमै फर्केका थिए । कांग्रेसबाट गण्डकीमा समानुपातिक सांसद हुँदै मन्त्रीसमेत भएका खड्का कारबाहीमा परेपछि २०८२ को चुनावअघि रास्वपा छिरेका हुन् ।
उनै खड्कालाई प्रदेश सभापतिको आकांक्षीका रूपमा चर्चा गरिएको छ । तर, खड्काले आफू आकांक्षी नरहेको अनलाइनखबरसँग बताए । ‘साथीहरूले चर्चा गर्नुभएको छ । तर, मेरो कुनै आकांक्षा छैन । म प्रदेश सभामा उम्मेदवार हुने हो । प्रदेश सभापतिमा होइन,’ खड्काले भने ।
रास्वपा गण्डकीको नेतृत्वका लागि अहिले ५ जना नेताबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। वर्तमान सभापति गौतम पुनः नेतृत्व दोहोर्याउने तयारीमा छन् भने महामन्त्री त्रिपाठी संगठनमा गरेको कामका आधारमा नेतृत्वमा पुग्नुपर्ने दाबी गरिरहेका छन् ।
पूर्वमन्त्री आचार्यले संघीय र प्रदेश तहको राजनीतिक अनुभवलाई अघि सारेका छन् भने कँडेलले संगठन विस्तार र निर्वाचन अनुभवलाई आफ्नो बलका रूपमा प्रस्तुत गरेका छन् ।
हरिशरण माओवादी सशत्र संघर्ष हुँदै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट गण्डकीको सांसद हुँदै ऊर्जा मन्त्रीसमेत बनेका थिए । उनी २०७९ को चुनावअघि रास्वपा छिरेका थिए ।
कडेंल २०७९ को चुनावमा कास्की(२ मा रास्वपाबाट प्रतिनिधि सभा उम्मेदवार थिए । चुनाव एमालेकी विद्या भट्टराईले चुनाव जिते पनि लोकप्रिय मत ल्याएर कँडेल पनि चर्चामा आएका थिए ।
२९ जेठमा पोखरामा हुने अधिवेशनले गण्डकीमा रास्वपाको आगामी नेतृत्व र संगठनात्मक दिशा तय गर्ने भएकाले पार्टीभित्र यसको विशेष चासोका साथ प्रतीक्षा भइरहेको छ।