२८ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतिजा आगमी असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘उत्तरपुस्तिकाको सम्परीक्षण सकेर टेबुलेसनको काम भइरहेको छ । १० गतेभित्र नतिजा सार्वजनिक हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।
सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ । सोहीअनुसार कर्मचारीले काम गरिरहेका छन् । ‘४५ दिनभन्दा अगाडि नै नतिजा आउँछ,’ उनले भने । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा २९ दिनमै सार्वजनिक गरिएको थियो ।
एसएसलीईको परीक्षा गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । परीक्षाका लागि ४ लाख १८ हजार ८ परीक्षार्थीहरूले फारम भरेका थिए । नियमिततर्फ ३ लाख ३२ हजार १७८ (जसमध्ये छात्र १ लाख ७२ हजार १२ छात्रा १ लाख ६० हजार १३७ र अन्य २९) तथा आंशिकतर्फ ८५ हजार ८३० विद्यार्थी थिए । नेपालभर १४२० र जापानमा एकसमेत गरी कूल १४२१ परीक्षा केन्द्रबाट परीक्षा भएको थियो ।