आइतवार, जेष्ठ ३१, २०८३

जाँदाजाँदै डीआईजी रानाको उपहार : प्रहरी परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

जाँदाजाँदै डीआईजी रानाको उपहार : प्रहरी परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट
धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले आफ्नो कार्यकालको अन्त्यतिर प्रहरी कर्मचारी तथा उनीहरूका परिवारका लागि महत्त्वपूर्ण सुविधा सुनिश्चित गरेका छन्। कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।
शनिबार सम्पन्न सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत बहालवाला नेपाल प्रहरी, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर एवं वीरगति प्राप्त प्रहरीका आश्रित परिवारले निसर्ग अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
सम्झौताअनुसार बहालवाला प्रहरी कर्मचारीका आमा–बुवा, श्रीमती तथा छोरा–छोरी, अवकाशप्राप्त प्रहरीका आश्रित परिवार र अमर तथा वीरगति प्राप्त प्रहरीका आश्रित परिवारले उक्त सुविधा प्राप्त गर्नेछन्।
अस्पतालले ओपीडी सेवा, एक्स–रे, यूएसजी, सिटी स्क्यान, ईसीजी, इको, टीएमटी, एबीपी, होल्टर परीक्षण, प्रयोगशाला सेवा, फिजियोथेरापी, शल्यक्रिया सेवा, बेड तथा भेन्टिलेटर सेवामा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ। साथै औषधि खरिदमा ७ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ।
सहुलियत सुविधा लिन सेवाग्राहीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सिफारिस पत्र वा आफ्नो आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्झौतापत्रमा निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमबहादुर रानाले हस्ताक्षर गरेका छन्। सम्झौताका साक्षीका रूपमा निसर्ग अस्पतालका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारी र प्रहरी निरीक्षक महेश विक्रम शाही रहेका छन् भने प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले रहोबरमा हस्ताक्षर गरेका छन्।
सम्झौता प्रत्येक आर्थिक वर्षमा नवीकरण गरिने तथा आवश्यकताअनुसार आपसी सहमतिमा संशोधन गर्न सकिने जनाइएको छ।
सम्झौतापछि बोल्दै डीआईजी रानाले निसर्ग अस्पतालप्रति धन्यवाद व्यक्त गर्दै यस सहकार्यले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन र आर्थिक भार कम गर्न ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।
निसर्ग अस्पतालले पनि राष्ट्रसेवामा समर्पित प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।