आइतवार, जेष्ठ ३१, २०८३

लागुऔषध तस्करीमा प्रयोग भएको कार गोली प्रहार गरी नियन्त्रणमा

भारतबाट नेपाल भित्रिएको ठूलो परिमाणको अवैध  लागुऔषध ट्रामाडोल नियन्त्रणमा लिन नेपाल प्रहरीले गोली प्रहार गरेको छ। घटनामा संलग्न तीन अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्ने बारा सिम्रौनगढ नगरपालिका–३ का ३५ बर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक ३२ बर्षीय अहमद लड्न र ३३ बर्षीय महमद सद्दाम रहेका छन्। उनीहरुले भारतको बिहारस्थित नाकाबाट बागमती प्रदेश बि एडि ९२०१ नम्वरको कारभित्र लुकाई उक्त लागुऔषध ल्याएका थिए।

सो कारलाई प्रहरीले ललितपुर महानगरपालिका–२३ गैरी गाउँस्थित सडकमा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। कार खनतलासी गर्दा लुकाई राखिएको ३० हजार क्याप्सुल ट्रामाडोल बरामद भएको ब्युराका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले बताए।

ब्युरोका अनुसार  घटनास्थलबाट बा.५२.प ४५६७ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। उक्त मोटरसाइकल पनि  लागुऔषध तस्करीका लागि प्रयोग भएको प्रहरीको भनाई छ। खोजतलास गर्ने क्रममा उक्त कार र मोटरसाइकल ललितपुरको गैरी गाउँमा फेला परेका थियो।

प्रहरीले रोक्न खोज्दा कार भाग्न खोजेको थियो। यही क्रममा प्रहरीले कारको चक्कामा गोली प्रहार गरेको हो। त्यसपछि भने कार नियन्त्रणमा आएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एसपी रेग्मीले बताए।