२८ वर्षदेखि दुर्घटनारहित सवारी सञ्चालन गर्दै आएका प्रेमराज जोशी सम्मानित
धनगढी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरिया कैलालीले २८ वर्षदेखि सवारी चलाउँदै आएका तथा अहिलेसम्म कुनै पनि ट्राफिक कारबाहीमा नपरेका बस चालक प्रेमराज जोशीलाई “उत्कृष्ट सवारी चालक सम्मान” प्रदान गरेको छ।
धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी जोशीले लामो समयदेखि अनुशासित, जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्दै यात्रु सेवामा योगदान पुर्याउँदै आएका छन्। ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै दुर्घटनारहित सेवा प्रदान गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी–२०८३ को अवसरमा आयोजित कार्यक्रममा उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना र नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग नक्सालका प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर गुरुङले संयुक्त रूपमा सम्मान गरेका हुन्।
सम्मानपत्रमा जोशीले यातायात क्षेत्रमा देखाएको उच्च धैर्यता, विनम्र व्यवहार, पेशाप्रतिको निष्ठा तथा सुरक्षित यात्रामा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरिएको छ। साथै आगामी दिनमा पनि उनको सेवा र भूमिका यातायात क्षेत्रमा उदाहरणीय रहने विश्वास व्यक्त गरिएको छ।