बुधबार, असार ३, २०८३

अविश्वसनीय जीव साङ्ला फोक्सो छैन, तर सजिलै सास फेर्छ

हामीमध्ये धेरै जना घरमा साङ्ला देख्दा या त डराउँछौं वा घिन मान्छौं । संसारभर साङ्लाका ४,६०० भन्दा बढी प्रजाति पाइन्छन्, जसमध्ये करिब ३० प्रजाति मात्र मानिसको बसोबास क्षेत्र वा घरमा भेटिन्छन् ।के तपाईंलाई थाहा छ, यो सानो जीव कति शक्तिशाली छ ? यसले पृथ्वीमा भएका चारवटा ठूला महाविनाशहरू पार गरेको छ र परमाणु बमको प्रभावसमेत सहन सकेको छ ।

करोडौं वर्ष पुरानो अस्तित्व

साङ्लाको इतिहास डायनासोरभन्दा पनि पुरानो मानिन्छ । सन् १८६५ मा वैज्ञानिक स्यामुएल हबर्ड स्कडरले अमेरिकाका कोइला खानीमा साङ्लाका पखेटा फेला पारेका थिए, जुन करिब ३० करोड वर्ष पुराना थिए । त्यस समयमा ती पखेटाको लम्बाइ ४ देखि ७ सेन्टिमिटरसम्म हुने गर्थ्यो ।

पछि सन् २०१८ मा लन्डनको इम्पेरियल कलेजका वैज्ञानिकहरूले ३० करोड वर्ष पुरानो जीवाश्मको त्रिआयामिक (थ्रीडी) भर्चुअल मोडेल तयार पारे, जसबाट त्यतिबेलाको साङ्लाको वास्तविक शारीरिक संरचना बुझ्न मद्दत मिल्यो । त्यस्तै, सन् २०११ मा चीनमा पनि २७ करोड वर्ष पुराना जीवाश्म पखेटा फेला परेका थिए, जुन आजका साङ्लासँग निकै मिल्दोजुल्दो देखिन्थे ।

चार महाविनाशलाई पनि जित्यो

साङ्लाको सबैभन्दा ठूलो विशेषता भनेको यसको जीवित रहने अद्‍भूत क्षमता हो । यसले पृथ्वीमा भएका चार ठूला महाविनाशलाई समेत पार गरेको छ।

लेट डेभोनियन महाविनाश

करिब ३६ करोड वर्षअघि समुद्रमा अक्सिजनको मात्रा अत्यन्त घट्दा करिब ७५ प्रतिशत प्रजाति नष्ट भए । तर साङ्ला भने बाँचे ।

पर्मियन–ट्रायासिक महाविनाश

करिब २५ करोड वर्षअघि साइबेरियामा विशाल ज्वालामुखी विस्फोट, अम्लीय वर्षा र वातावरणीय विनाशका कारण समुद्री जीवका ९५ प्रतिशत र स्थलचर जीवका ७० प्रतिशत प्रजाति नष्ट भए । तर साङ्ला भने दलदलमुनि लुकेर र सडेगलेका वस्तु खाएर बाँचे ।

ट्रायासिक–जुरासिक महाविनाश

करिब २० करोड वर्षअघि विशाल ज्वालामुखी गतिविधिका कारण करिब ८० प्रतिशत जीव लोप भए । तर साङ्ला फेरि पनि बाँच्न सफल भयो ।

डायनासोरको अन्त्य

करिब ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा विशाल उल्कापिण्ड ठोक्किँदा डायनासोरको अन्त्य भयो । तर साङ्लाले आफूलाई सुरक्षित राख्न सफल भयो ।

३६ भागमा विभाजित मुटु र ३६० डिग्री दृष्टि

साङ्लाको शरीर अन्य जीवभन्दा निकै फरक हुन्छ । यसको शरीर मुख्य रूपमा तीन भागमा विभाजित हुन्छ । टाउको, ढाड र पेट ।

टाउको

यसमा दुईवटा आँखा हुन्छन्, जसले करिब ३६० डिग्रीसम्मको दृश्य हेर्न सक्छन् । साथै दुईवटा एन्टेना हुन्छन्, जसले सेन्सरको काम गर्छन् । मुख भने खाना खाने र पानी पिउने काममा प्रयोग हुन्छ ।

ढाड र पेट

यस भागमा ६ वटा खुट्टा, ४ वटा पखेटा र एउटा मुटु हुन्छ । साङ्लाको मुटु १३ वटा कोठामा विभाजित हुन्छ ।

अझ रोचक कुरा के छ भने साङ्लामामा फोक्सो हुँदैन । यसले शरीरका छेउछाउमा रहेका साना प्वाल (स्पाइराकल) मार्फत सास फेर्छ । रगतमा हेमोग्लोबिन नहुने भएकाले यसको रगत रातो नभई सेतो वा पहेँलो रङको हुन्छ ।

टाउको काटिएपछि पनि बाँच्न सक्छ

साङ्लाको स्नायु प्रणाली केवल टाउकोमा सीमित हुँदैन । यसको शरीरका विभिन्न भागमा स्नायु केन्द्रहरू फैलिएका हुन्छन् । त्यसैले शरीरको कुनै भाग क्षतिग्रस्त भए पनि अन्य भागले काम गरिरहन्छन् । टाउको काटिएपछि घाउको भाग तुरुन्त बन्द हुने भएकाले रगत बाहिर बग्दैन । तर मुख नहुँदा यसले पानी पिउन सक्दैन र केही सातापछि तिर्खाका कारण मर्छ ।

भालेबिनै सन्तान जन्माउन सक्छ

साङ्ला संसारको लगभग जुनसुकै वातावरणमा पनि बाँच्न सक्छ । यसले फूल, पात, मासु, सडेगलेका वस्तु लगायत लगभग सबै प्रकारका जैविक पदार्थ खान सक्छ ।

सामान्यतया पोथी साङ्लाले भालेसँग समागम गरेपछि प्रत्येक महिना एउटा ऊथिका उत्पादन गर्छ । यो हरियो वा खैरो रङको क्याप्सुलजस्तो संरचना हो, जसमा १६ देखि ४० वटासम्म अण्डा सुरक्षित रहन्छन् । यो क्याप्सुल निकै बलियो हुने भएकाले अन्य साना कीराले सजिलै नष्ट गर्न सक्दैनन्।
पोथी साङ्लाले भालेको शुक्रकीट आफ्नै शरीरमा करिब ६ महिनासम्म सुरक्षित राख्न सक्छ ।

सबैभन्दा रोचक कुरा त के छ भने, कतिपय अवस्थामा पोथीले भालेबिनै सन्तान जन्माउन सक्छ । यस प्रक्रियालाई पार्थेनोजेनेसिस भनिन्छ । यसमा आमाको आफ्नै डीएनएका प्रतिलिपिहरू मिलेर भ्रूण विकास हुन्छ ।

शरीर चकनाचुर भए पनि अण्डा भने सुरक्षित

एउटा भनाइ छ यदि संसारमा कहिल्यै ठूलो परमाणु युद्ध भयो भने साङ्ला मात्र बाँकी रहनेछन् । यो पूर्णरूपमा वैज्ञानिक तथ्यमा आधारित नभए पनि साङ्लाको सहनशीलतालाई हेरेर बनाइएको धारणा हो ।

सन् १९४५ मा हिरोसिमा र नागासाकीमा परमाणु बम खसालिँदा २ लाखभन्दा बढी मानिसको मृत्यु भयो । तर उद्धार टोलीले केही स्थानमा जीविच साङ्ला भेटेका थिए । वैज्ञानिकहरूका अनुसार, जहाँ मानिसले कम मात्राको उच्च विकिरण पनि सहन गाह्रो हुन्छ, त्यहीं साङ्लाले मानिसको तुलनामा धेरै गुणा बढी विकिरण सहन सक्छ ।

साङ्लाको बाहिरी आवरण निकै बलियो हुन्छ र यसले आफ्नो तौलभन्दा करिब ९०० गुणासम्म बढी भार थेग्न सक्छ । यद्यपि, ठूलो दबाब वा प्रहार हुँदा यसको बाहिरी आवरण फुट्न सक्छ र भित्री अंगहरू नष्ट हुन सक्छन् । तर यति हुँदा पनि यसको अण्डा राखिएको ऊथिका भने धेरैजसो अवस्थामा सुरक्षित रहन्छ ।