बुधबार, असार ३, २०८३

झलनाथको प्रचण्डलाई कडा सन्देश के म यो पार्टीमा धुप हालेर बस्ने

३ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल सहसंयोजक माधवकुमार नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र पठाएका छन् ।

उनले संयोजक दाहालले एक पत्रमार्फत आफ्नो तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टी एकता भएको ७ महिना पुग्न लाग्दा पनि आफूलाई पूर्ण रूपमा जिम्मेवारीविहीन बनाइएको भन्दै खनालले नेतृत्वको नियतमाथि प्रश्न उठाएका हुन् ।

पत्रका आधारमा नेता खनालले दाहाल र माधव नेपालमाथि जिम्मेवारविही बनाएर आफूमाथि अपमान गरेको उल्लेख गरेका छन् ।

विगत ६ दशकदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय र पार्टीका विभिन्न कमिटीहरू चलाइसकेको आफू जस्तो वरिष्ठ नेतालाई एकताको ७ महिनासम्म पूर्ण रूपले जिम्मेवारीविहीन बनाएर अपमानजनक व्यवहार गरेको आरोप खनालकव छ ।

एकताका बेला भएका वैचारिक सहमति उल्लंघन गरेको आरोप उनको छ । १९ कार्तिक २०८२ मा एकता हुनुअघि प्रचण्ड र आफूबीच मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मन्ने र वैज्ञानिक समाजवादको लक्ष्य राख्ने लगायतका चार सिद्धान्तमा सहमति भए पनि दाहाल ती सिद्धान्तहरूबाट विचलित भएको आरोप पत्रमा छ।

माधव नेपालको गुटबन्दी र दबाबमा फसेको आरोप उनले दाहालमाथि लगाएका छन् । दाहाल आफ्नो अडानमा बस्न नसकी माधव नेपालको सुनियोजित जाल र दबाबमा फसेको तथा नेपालले जे-जे भन्यो त्यही मात्र लागू गर्दै गएको आरोप खनालले लगाएका छन् ।

योग्य कार्यकर्ता र युवाहरूमाथि पूर्वाग्रह राखेको आरोप छ । साविक नेकपा (एस) को अन्तिम केन्द्रीय कमिटीमा माधव नेपालले आफूसँग मतभिन्नता राख्ने योग्य साथीहरू र पूर्व युवा संघका होनहार युवाहरूलाई घोर पूर्वाग्रह एवं पक्षपातपूर्ण ढंगले पाखा लगाएको र दाहालले त्यसलाई सच्याउने सहमति गरे पनि लागू गर्न नसकेको खनालको आरोप छ।

उनले माधव नेपालमाथि लागेको भ्रष्टाचारको आरोपमाथि पनि टिप्पणी गरेका छन् । विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको, सांसद पद समेत निलम्बनमा परेको र चुनावमा शर्मनाक हार व्यहोरेका माधव नेपाललाई नैतिकताको धज्जी उडाउँदै नयाँ पार्टीको सहसंयोजक बनाइएको भन्दै खनालले नेतृत्वको कडा आलोचना गरेका छन् ।

एमाले फुटाउन पदको सौदाबाजी गरेको खुलासा पनि उनले गरेका छन् । माधव नेपालले आफूलाई ओलीको दक्षिणपन्थी अवसरवादको विरोध गर्ने र वैज्ञानिक समाजवादमा जाने भन्दै झुक्याएर एमाले विभाजन गरेको तर वास्तविकतामा केवल अर्को अध्यक्ष (पद) प्राप्तिका निम्ति मात्र पार्टी फुटाएको आरोप खनालको छ ।

साविक नेकपा विभाजन गराउने आत्मघाती गल्ती गरेको आरोप पनि उनले लगाएका छन् । विगतमा एमाले र माओवादी एकता हुँदा केपी ओली र प्रचण्डले निर्वाचन आयोगको चेतावनीका बाबजुद दर्ता भइसकेको पार्टीकै नाममा ‘नेकपा’ दर्ता गराउने आत्मघाती गल्ती गरेको र त्यही सानो कमजोरीले गर्दा अदालतको बहानामा लाखौँ कार्यकर्ताको बिल्लीबाठ भएको खनालको आरोप छ।

पार्टीमा ‘जबज’ को विषाक्त रोग भित्र्याएको आरोप पनि उनको छ । विचारका हिसाबले पुँजीवादी जनवाद र दक्षिणपन्थी भड्काउ रहेको ‘बहुदलीय जनवाद’ (जबज) लाई माधव नेपालको समूह मार्फत पार्टीमा भित्र्याएर नेकपालाई सैद्धान्तिक रूपमा अधोगतितर्फ लैजाने विजारोपण गरेको आरोप खनालले प्रचण्डमाथि लगाएका छन् ।

१० वर्ष सशस्त्र संघर्ष गरेका र कुनै समय प्रचण्डपथका प्रणेता रहेका दाहालले शान्ति प्रक्रियामा आउँदा जनयुद्ध र माओवाद मात्र नछोडी अहिले बुर्जुवाहरूले अघि सारेको प्रजातान्त्रिक समाजवादसम्म तल खसेको भन्दै खनालले आश्चर्य र दुःख व्यक्त गरेका छन् ।

उनले झुक्याएर जबजवादी विधान छापेको आरोप पनि लगाएका छन् । आफूसँग छलफल नै नगरी, साविक नेकपा (एस) को दशौँ महाधिवेशनबाट पास भएको बहानामा माधव नेपालको जबजवादी विधानको कपी गरेर पार्टीको अन्तरिम विधान २०८२ मा प्रजातान्त्रिक समाजवाद र बहुदलीय जनवादलाई पार्टीको लक्ष्यका रूपमा छापेर आफूलाई धोखा दिएको आरोप खनालले पत्रमा उल्लेख गरेका छन् ।

नेता खनालले पार्टीभित्र आफूलाई ‘खोर जस्तै अनुभूत’ भइरहेको उल्लेख गर्दै नैतिकता नभएको नेतृत्वबाट क्रान्तिकारी पार्टी बन्न नसक्ने चेतावनी दिएका छन् ।