सुरक्षाकर्मी र वन कार्यालयले कडाइ र निगरानी बढाउन थालेपछि काठ तस्करहरूले चोरी निकासीका लागि नयाँ जुक्ति निकाल्न थालेका छन्।
अत्यधिक काठ चोरी निकासी हुने विजयनगरको जवाबैराठ क्षेत्रको जंगलमा केही समय यता निगरानी बढाई पछि काठ तस्करहरूले नयाँ ढंगले चोरी तस्करी सुरु गरेका हुन्। तस्करहरूले बालुवा, गिट्टी, ढुंगा र माटो लोड गर्ने गाडीमा लुकाएर काठ तस्करी गर्ने गरेको पाइएको हो।
यसै क्रममा ढुंगा र गिट्टी लोड गरेको लु १ ख २६२८ प्रहरीले जवाबैराठ क्षेत्रमा राेकेर राखेको टिप्परबाट १४ गोलिया (१८९ ) क्युफिट सालको काठ बरामद गरेको छ।
विशेष सूचनाका आधारमा प्रहरीले रोकी राखेको सो टिप्परको खानतलासी लिँदा सो परिणामको सालको काठ बरामद भएको प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहले बताए।
काठको ४ लाख ७२ हजार ५ सय र टिप्परको ४० लाख रूपैयाँ मूल्य कायम गरिएको छ। बरामद काठ र टिप्पर गौतमबुद्ध साझेदारीलाई बुझाइएको छ।
विजयनगरको जवाबैराठ र आसपासको क्षेत्र अत्यधिक काठ तस्करी हुने क्षेत्र हुन्। त्यही क्षेत्रमा दर्जनौं सहमिल समेत छ। सहमिलमा तस्करीकै काठहरू प्रयोग हुने गरेको त्यस क्षेत्रका स्थानीयबासी बताउँछन्। सहमिलमा नेपाल मात्र होइन भारतबाट समेत काठ तस्करी भएर आउने गरेको छ।