शुक्रबार, असार ५, २०८३

रक्षामन्त्री छलफलका लागि संसद्‍मा आउनुपर्छ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गरे। त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने उनको भनाइ थियो।

‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति अविलम्ब रेकर्डबाट हटाइनुपर्छ भन्ने माग हामीले निरन्तर उठाइरहेका छौँ, तर त्यसको सुनुवाइ भएको छैन। यसले सदनको गरिमा बढाएको छैन,’ साम्पाङले भने, ‘उक्त राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनुपर्छ भन्ने हाम्रो माग यथावत् छ।’

त्यस्तै, नेपालमा रहेका भुटानी शरणार्थीको मानवीय समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए। दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकले स्वदेश फिर्ती वा तेस्रो मुलुकमा रहेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलनको माग गरिरहेको उल्लेख गर्दै उनले यस विषयमा सम्बन्धित मन्त्रालयले गम्भीरता देखाउनुपर्ने बताए।

‘आफ्नो राष्ट्र छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूका लागि पनि हामीले सोच्नुपर्छ। उनीहरूलाई कि स्वदेश फिर्ता पठाउने पहल गरियोस्, होइन भने परिवार मिलनका लागि अन्य राष्ट्र पठाउने व्यवस्था मिलाइयोस्,’ उनले भने।

रक्षा मन्त्रालय अन्तर्गतको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै उनले आपत्ति जनाए। रक्षा मन्त्रालयको खर्च विवरण समावेश भएको पुस्तक सांसदलाई किन वितरण गरिएन भन्दै उनले सभामुखमार्फत सरकारसँग जवाफ माग गरे।