शुक्रबार, असार ५, २०८३

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, ६१ प्रतिशत पूर्वाधारमा

काठमाडौं, असार ४ – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले नगर सभामा कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै उक्त बजेट घोषणा गरेकी हुन्। प्रस्तावित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुने व्यवस्था गरिएको छ भने ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारतर्फ छुट्याइएको छ। यो रकम चालु आर्थिक वर्षको तुलनामा केही बढी हो। चालु वर्षका लागि महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको थियो।

महानगरले आगामी वर्षका लागि २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ आन्तरिक आय तथा बैंक मौज्दातबाट जुट्ने अनुमान गरेको छ। यस्तै, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समानीकरण र राजस्व बाँडफाँडको अनुदानमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट थप १ करोड रुपैयाँ संकलन हुने अनुमान छ।

क्षेत्रगत रूपमा हेर्दा पूर्वाधार विकासलाई सबैभन्दा उच्च प्राथमिकता दिइएको छ। यस क्षेत्रमा कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ। सडक, ढल, सार्वजनिक संरचना तथा शहरी पूर्वाधारका योजनाहरू यस बजेटका प्रमुख प्राथमिकतामा पर्ने जनाइएको छ।

सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ९.६ प्रतिशत छुट्याइएको छ। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा समुदाय लक्षित कार्यक्रमहरू यस शीर्षकअन्तर्गत सञ्चालन गरिनेछन्।

त्यसैगरी आर्थिक विकास क्षेत्रका लागि ५४ करोड १८ लाख २० हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित कार्यक्रमका लागि २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ। महानगरले पूर्वाधार विस्तारसँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बजेट प्रस्तुत गरेको जनाएको छ।