शनिबार, असार ६, २०८३

हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू

जब काठमाडौंको व्यस्त कोलाहल सकिन्छ र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेदीमा सुन्दरीजलको पहिलो झरना सुसाइरहेको सुनिन्छ, त्यहाँ प्रकृति एउटा पवित्र मन्दिर जस्तो देखिन्छ । वागमती नदी यहाँ जति कञ्चन र निर्मल बग्छिन्, त्यति नै निर्मल र कञ्चन छ यस क्षेत्रका किसानको मन । तर यो कञ्चन शिरको तल्लो फेदीमा जब असारको वर्षा शुरु हुन्छ, त्यहाँको कथा बदलिन्छ । सुन्दरीजलका भिराला कान्ला र सिँढी जस्ता गराहरूमा वर्षाको पवित्र पानी मात्र बग्दैन, त्यहाँ बग्छ किसानको निधारबाट चुहिएको पसिनाको सुवास । असार १५ नजिकिँदै गर्दा, यहाँका हिलाम्मे गराहरू एउटा यस्तो रङ्गमञ्च बन्छन् जहाँ जीवनको सबैभन्दा कठिन र सुन्दर नाटक मञ्चन हुन्छ । यहाँ माटो र मानिसको सम्बन्ध यति गहिरो छ कि माटोले आफ्नो अस्तित्व धान्न किसानको हात खोज्छ र किसानले आफ्नो प्राण धान्न त्यही हिलो सुम्सुम्याउँछ । न्युज एजेन्सी नेपाल