धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको राजीनमाको माग राखेर बिहीवारदेखि धनगढीमा अनशन बसेका डाक्टर गोविन्द केसीले अनशनकै दौरान गेटामा तीन सय शय्याको अस्पताल पूर्ण क्षमतामा चल्नुपर्ने र मेडिकल विश्वविद्यालय चल्नुपर्ने मागसमेत थपेको विवरण सार्वजनिक भएका छन्।
डाक्टर केसीले अस्पताल चल्नुपर्ने माग अहिले राखे पनि विश्वविद्यालयले भने गत चैतमै गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरिएको पाइएको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गत चैत २५ गते गेटामै बसेको सिनेट बैठकले तीन सय शय्याको अस्पतालको दरबन्दी स्वीकृत गरेको हो।
संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत भएसँगै विश्वविद्यालयले प्राध्यापक, सहप्रध्यापक र उपप्राध्यापकका लागि विज्ञापन गरेको थियो। बिचमा सरकारले अध्यादेश ल्याएर उपकुलपति र रजिस्ट्रार हटाएकाले भर्ना प्रक्रिया अवरुद्ध भएको थियो।
सरकारले असार ३१ गते उपकुलपतिमा डाक्टर सुनिलकुमार जोशी र रजिस्ट्रारमा डाक्टर भिमबहादुर चन्दलाई नियुक्त गरेको हो भने असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयमातहत रहेको गेटा अस्पताललाई स्वीकृति दिएको थियो।
मन्त्रिपरिषद्को निर्णयअनुसार गेटा अस्पताललाई विश्विविद्यालय मातहत ल्याउन हस्तान्तरण गर्ने योजना थियो। स्वास्थ्य मन्त्रालयले साउन ६ गते विश्वविद्यालयलाई परिपत्र गर्दै अस्पताल हस्तान्तरण गर्न स्वास्थ्य मन्त्री निशा महतो साउन ९ गते शनिवार जानकारी दिएको थियो।