बिहिबार, भदौ ११, २०८३

प्रचण्डको सरकारलाई आग्रह: किसानका लागि रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गरौँ

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशसहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रचण्डले किसानहरूले मलको अभाव झेलिरहेको अवस्थामा उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण समन्यायिक रूपमा किसानसम्म पुग्न नसकेको गुनासो व्यापक रहेको बताएका छन्।

मल आयातको प्रक्रिया जटिल हुने भएकाले समयमै पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मलको आपूर्ति तथा वितरणका लागि समयमै तयारी गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको दाबी गरेका छन्।

उनले सरकारले रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। साथै, आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न र मलको कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन्।

किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्ने व्यवस्था मिलाउनसमेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रचण्डले सोमबार जारी गरेको वक्तव्यमा मलको अभावले किसानमा परेको समस्यालाई तत्काल सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।