धनगढी– रोजगारी र उज्ज्वल भविष्यको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढिरहेका बेला धनगढीकी निरु सिंहले भने स्वदेशमै व्यवसाय गरेर आत्मनिर्भर बन्ने बाटो रोजेकी छन् । धनगढी–२, पुरानो भन्सारमा करिब १० लाख रुपैयाँ लगानी गरी उनले ‘निरु कलेक्सन’ सञ्चालनमा ल्याएकी हुन् ।
विदेश गएर रोजगारी गर्ने सोच बनाइरहेका युवायुवतीको संख्या बढिरहेका बेला सिंहको व्यवसायिक यात्राले स्वदेशमै पनि अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । आफ्नै देशमा लगानी गरेर केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरेको सिंह बताउँछिन् ।
महिलाहरूका लागि आवश्यक सामग्रीलाई प्राथमिकता दिँदै ‘निरु कलेक्सन’मा विभिन्न डिजाइनका कुर्ता–सुरुवाल, साडी तथा लेडिज ब्याग उपलब्ध छन् । ग्राहकको माग र रोजाइलाई ध्यानमा राख्दै सामग्री थप गर्ने तथा व्यवसायलाई समयअनुसार अघि बढाउने प्रयास भइरहेको सिंहले बताएकी छन् ।
उनका अनुसार व्यवसाय सुरु गर्नुको मुख्य उद्देश्य आफ्नै ठाउँमा बसेर आयआर्जन गर्नु र आत्मनिर्भर बन्नु हो । स्वदेशमा लगानी गरेर व्यवसाय सञ्चालन गर्दा आफू मात्र नभई अन्य व्यक्तिका लागि समेत रोजगारीको अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ ।
‘अवसरको खोजीमा विदेश जानुभन्दा आफ्नै ठाउँमा पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरेकी हुँ,’ सिंहको भनाइ छ ।
पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवाका लागि आम विकल्प बन्दै गएको छ । रोजगारीको खोजीमा दैनिक ठूलो संख्यामा युवा विदेश जाने गरेका छन् । आर्थिक अवस्था सुधार गर्ने र परिवारको भविष्य सुरक्षित गर्ने उद्देश्यले विदेश जाने प्रवृत्ति बढे पनि स्वदेशमै व्यवसाय तथा उद्यम गर्ने सम्भावना भने समाप्त नभएको सिंहको अनुभव छ ।
सिंहले व्यवसाय सुरु गर्दा बजारको अवस्था र ग्राहकको आवश्यकतालाई समेत ध्यानमा राखेकी छन् । विशेषगरी महिलाका दैनिक तथा विशेष अवसरमा प्रयोग हुने पहिरन र ब्यागलाई केन्द्रमा राखेर सामग्री उपलब्ध गराउँदै आएकी छन् ।
बजारमा प्रतिस्पर्धा रहे पनि ग्राहकको रोजाइअनुसार गुणस्तरीय र आकर्षक सामग्री उपलब्ध गराउन सके व्यवसायलाई निरन्तरता दिन सकिने उनको विश्वास छ । त्यसैले ग्राहकको प्रतिक्रिया र बजारको मागलाई आधार बनाएर व्यवसायलाई अगाडि बढाउने उनको योजना छ । ‘निरु कलेक्सन’लाई आगामी दिनमा थप विस्तार गर्ने सिंहको लक्ष्य छ । ग्राहकको संख्या बढाउँदै नयाँ डिजाइन तथा आवश्यकताअनुसारका सामग्री थप गर्ने र व्यवसायको दायरा फराकिलो बनाउने योजना उनले सुनाएकी छन् ।
उनको व्यवसायिक प्रयासले महिला उद्यमशीलताको सम्भावनालाई समेत उजागर गरेको छ । पारिवारिक तथा सामाजिक जिम्मेवारीसँगै आर्थिक रूपमा आत्मनिर्भर बन्न महिलाहरूले पनि व्यवसाय तथा उद्यममा सक्रिय हुनुपर्ने सिंहको धारणा छ ।
नेपालमा महिलाहरूको उद्यमशील सहभागिता बढ्दै गए पनि व्यवसाय सुरु गर्न पूँजी, बजार र व्यवस्थापनजस्ता विषय चुनौतीका रूपमा रहने गरेका छन् । यस्ता चुनौतीका बीच सिंहले आफ्नै लगानीमा व्यवसाय सुरु गरेर निरन्तरता दिने प्रयास गरेकी छन् ।
स्वदेशमै उद्यम गर्ने उनको निर्णयले विदेश जाने तयारीमा रहेका युवाहरूलाई पनि वैकल्पिक बाटोबारे सोच्न प्रेरित गर्न सक्ने देखिन्छ । आफ्नो सीप, क्षमता र स्थानीय बजारको सम्भावना पहिचान गर्न सके नेपालमै बसेर आयआर्जन गर्न सकिने उनको व्यवसायले सन्देश दिएको छ ।
विदेशबाट आउने रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भए पनि ठूलो संख्यामा युवा विदेशिँदा देशभित्रको उत्पादनशील जनशक्ति बाहिरिने अवस्था पनि छ । यस्तो समयमा स्थानीय स्तरमै लगानी गरी व्यवसाय सञ्चालन गर्ने प्रयासले रोजगारी सिर्जना, स्थानीय बजारको विस्तार र आर्थिक गतिविधि बढाउन योगदान पु¥याउन सक्छ ।