भारतको गृह मन्त्रालयको निर्देशनपछि गौरीफन्टा नाकामा आधार कार्ड मात्र देखाएर नेपाल–भारत सीमा पार गर्न नदिने व्यवस्था लागू गरिएको छ। अब भारतीय नागरिकले मतदाता परिचयपत्र वा वैध राहदानी अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। अभिभावकसँग यात्रा गर्ने बालबालिकाका लागि विद्यालय परिचयपत्र वा राशन कार्ड मान्य हुने बताइएको छ। नयाँ नियमको जानकारी नहुँदा आधार कार्ड बोकेर पुगेका धेरै यात्रु फर्काइएका छन्। सुरक्षा निकायले नक्कली परिचयपत्र प्रयोग, अवैध घुसपैठ तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न सीमा जाँच कडा बनाइएको जनाएको छ। यात्रुलाई आवश्यक वैध कागजात पूरा गरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।