बिहिबार, भदौ ११, २०८३

अनुमति बिना सेवा किन दिँदै छ केजी अस्पताल नियमनकारी निकाय खै ?

धनगढी,‌ २६ साउन /  मान्छे जन्मिएपछि एक दिन मर्नुपर्छ। यो प्रकृतिको सत्य हो। तर कसैको गल्ती, लापरबाही वा कमजोरीका कारण कसैले ज्यान गुमाउनु भनेको केवल मृत्यु मात्रै होइन, यो गम्भीर प्रश्न हो। हाम्रो भाषामा यसलाई पाप भनिन्छ, अपराध भनिन्छ।

अस्पताल पुग्ने हरेक बिरामीको मनमा एउटै आशा हुन्छ। अब म निको हुन्छु।

डाक्टरको अगाडि पुगेपछि बिरामी र उनका आफन्तले अस्पताललाई उपचारको अन्तिम भरोसाका रूपमा हेर्छन्। तर कहिलेकाहीँ त्यही भरोसा केही समयमै निराशामा परिणत हुन्छ। उपचारका क्रममा ज्यान जानु सधैँ कसैको गल्तीका कारण मात्रै हुँदैन। चिकित्सकीय जटिलता र प्रयासका बाबजुद हुने मृत्यु पनि हुन्छ। तर जब अस्पताल, चिकित्सक वा व्यवस्थापनको कमजोरीका कारण बिरामीको ज्यान गएको प्रश्न उठ्छ, त्यसको जवाफ खोजिनुपर्छ।

केही दिनअघि धनगढीस्थित केजी अस्पतालमा ५० वर्षीया समानी देवी चौधरीको पथ्थरीको अप्रेसनका क्रममा मृत्यु भयो।

मृत्युपछि परिवारले आन्दोलन गर्‍यो। अस्पताल र परिवारबीच सहमति भयो। परिवारले करिब २२ लाख रुपैयाँ क्षतिपूर्ति पायो। आन्दोलन रोकियो। घटना विस्तारै सामसुम पारियो।

तर प्रश्न यत्तिमै सकिन्छ त?

२२ लाख रुपैयाँ क्षतिपूर्तिले एउटा नागरिकको मृत्युको सम्पूर्ण जवाफ दिन्छ? नियमनकारी निकाय कहाँ थियो?

घटना भएपछि मात्रै नियमनकारी निकाय सक्रिय हुनु आफैँमा अर्को प्रश्न हो। स्वास्थ्य कार्यालय कैलालीले ढिलो गरी अस्पतालसँग स्पष्टीकरण मागेको छ। तर नागरिकको प्रश्न छ-स्पष्टीकरण सोधेर मात्रै यो घटना समाधान हुन्छ?

स्वास्थ्य कार्यालय कैलालीसँग गरिएको कुराकानीअनुसार २५ शय्याको अस्पताल सञ्चालनका लागि स्वास्थ्य निर्देशनालय डोटीबाट अनुमति दिइएको हो। तर अत्यावश्यक अवस्थाबाहेक त्यस्तो अस्पतालमा अप्रेसन गर्न पाउने व्यवस्था नरहेको स्वास्थ्य कार्यालय कैलालीको भनाइ छ।

यदि यो व्यवस्था हो भने अब प्रश्न उठ्छ-केजी अस्पतालमा भएको उक्त अप्रेसन अत्यावश्यक थियो त?

पथ्थरीको अप्रेसन कति इमरजेन्सी?

चिकित्सा क्षेत्रका जानकारहरूका अनुसार सामान्य अवस्थामा पथ्थरीको अप्रेसन तत्कालै गर्नुपर्ने अवस्था हुँदैन। बिरामीको अवस्था हेरेर समय लिएर अप्रेसन गर्न सकिने उनीहरूको भनाइ छ।

तर समानी देवी चौधरीको अस्पताल भर्ना भएकै दिन अप्रेसन गरिएको बताइएको छ। यदि पथ्थरीको अप्रेसन सामान्यतया समय लिएर गर्न सकिने हो भने बिरामी भर्ना भएकै दिन अप्रेसन किन गरियो?

स्रोतको जानकारी अनुसार यस्ता छन्  केजी अस्पतालका कमजोरी

समानी देवीको मृत्युको घटनासँगै केजी अस्पतालको सेवा सञ्चालन र पूर्वाधारमाथि पनि गम्भीर प्रश्न उठेका छन्। स्रोतका अनुसार अस्पतालले भवनसम्बन्धी आवश्यक मापदण्ड पूरा नगरेको, आईसीयूको स्वीकृति नलिएको तथा मेजर अप्रेसनका लागि आवश्यक ओटी स्वीकृत नभएको दाबी गरिएको छ। अस्पतालले एम्बुलेन्स समेत भाडामा दिएर चलाइरहेको छ।

त्यति मात्रै होइन, अस्पतालमा कार्यरत केही केयर किपरले नर्सको काम गरिरहेको र कर्मचारीलाई सरकारले तोकेका सेवा–सुविधासमेत नदिइएको स्रोतको दाबी छ।

गल्ती भएपछि मात्रै कारबाही किन?

स्वास्थ्य संस्था नागरिकको जीवनसँग जोडिएको ठाउँ हो। यहाँ सामान्य व्यवसायजस्तो ‘गल्ती भयो, क्षतिपूर्ति तिर्‍यो र विषय सकियो’ भन्ने अवस्था हुनु हुँदैन। किनकि क्षतिपूर्ति लिएपछि मृत व्यक्ति फर्केर आउँदैनन्।

२२ लाख रुपैयाँले परिवारको पीडा कम गर्न केही सहयोग गर्न सक्छ। तर त्यसले मृत्युको कारण मेटाउँदैन। अस्पतालको कमजोरी थियो कि थिएन भन्ने प्रश्नको जवाफ पनि दिँदैन।

अब आवश्यक छ- निष्पक्ष छानबिन

अस्पतालले कुन अवस्थामा अप्रेसन गर्‍यो? बिरामीको स्वास्थ्य अवस्था कस्तो थियो? अप्रेसनका लागि आवश्यक पूर्वाधार र जनशक्ति अस्पतालसँग थियो कि थिएन? अप्रेसन गर्ने चिकित्सकको योग्यता र जिम्मेवारी के थियो? अप्रेसनका क्रममा के भयो? मृत्युको वास्तविक कारण के हो? यी प्रश्नको जवाफ खोजिनुपर्छ।

नागरिकले उपचार होइन, भरोसा पनि खोज्छ

अस्पतालमा पुग्दा नागरिकले पैसा मात्रै बोकेर जाँदैन। ऊ आफ्नो जीवनको भरोसा बोकेर जान्छ। त्यही भरोसामाथि प्रश्न उठ्ने अवस्था आयो भने नियमनकारी निकायले गम्भीर भएर हेर्नुपर्छ।

एउटा घटनामा परिवारलाई क्षतिपूर्ति दिएर विषय टुंग्याउने हो भने भोलि अर्को परिवारले यस्तै पीडा भोग्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले अहिलेको मुख्य प्रश्न समानी देवी चौधरीको परिवारले कति क्षतिपूर्ति पायो भन्ने होइन।

मुख्य प्रश्न हो ? समानी देवीको मृत्यु किन भयो?

अस्पतालको कमजोरी थियो भने त्यसको जिम्मेवार को हो?

अस्पतालले आफ्नो स्वीकृत क्षमताभन्दा बाहिर गएर सेवा दिएको थियो भने नियमनकारी निकायले किन समयमै रोक्न सकेन?

सबैभन्दा ठूलो प्रश्न ?

नियमनकारी निकायले अब पनि स्पष्टीकरणमै चित्त बुझाउने हो कि स्वास्थ्य संस्थाको वास्तविक नियमन र अनुगमन गर्ने हो?

यी प्रश्नको जवाफ नआएसम्म २२ लाख रुपैयाँको क्षतिपूर्तिसँगै एउटा परिवारको आन्दोलन त रोकिएला, तर समानी देवीको मृत्युले उठाएको प्रश्न भने रोकिने छैन।

अस्पताल व्यवस्थापन र पूर्वाधारको बारेमा जानकारी लिन खोज्दा केजी अस्पतालका व्यवस्थापक डा. दीपक सिंहले यस विषयमा आफू कुनै पनि प्रतिक्रिया नदिने भन्दै फोन काँटे , यसै विषयलाई लिएर व्यवस्थापन समितिका अध्यक्ष चेतराज जोशीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ‌।