बिहिबार, भदौ ११, २०८३

सात वर्षपछि खुल्यो सीमापार व्यापार, बझाङबाट ६ दिन हिँडेर डोकाडाला बेच्न ताक्लाकोट ।

बझाङ — ६ दिनको कठिन पैदल यात्रा पछि बझाङका स्थानीय डोकाडालालगायतका हस्तकलाका सामान बिक्री गर्न चीनको तिब्बतमा पर्ने सीमावर्ती बजार ताक्लाकोट पुगेका छन् । समुन्द्री सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा रहेको उरै भञ्जाङ छिचोल्दै बझाङको साइपाल र तलकोट गाउँपालिकाका ४३ जना स्थानीय हस्तकलाका सामग्री लिएर ताक्लाकोट पुगेका हुन् ।

कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले तिब्बत प्रवेशमा रोक लगाए पछि झण्डै सात वर्षसम्म रोकिएको हिमालपार व्यापारको पुर्ख्यौली परम्परा यस वर्षबाट पुनः सुरु भएको हो । परमपरागत व्यापारका लागि सामूहिक तिब्बत प्रवेश अनुमति पाए पछि बझाङका स्थानीयले डोका, बञ्चरोका बिंड, अन्न राख्ने निगालोका डाला (ल्याक्च्या), हसियाँका बिंड, टिमुरलगायत सामग्री लिएर ताक्लाकोट गएका हुन् ।

घोडा, खच्चर र चौंरीमा बोकाएर बझाङबाट हस्तकलाका सामान ताक्लाकोट पुर्‌याएको र तिब्बतको पुलान काउन्टी प्रशासनले तोकेको ठाउँमा बजार थापेर सामान बिक्री गरिरहेको साइपाल गाउँपालिकाका हरिभान बोहराले बताए । ‘डोकाडाला मात्रै ३५ सय जति ल्याएका छौं । कसैले काठका सामान, कसैले टिमुर, दाल पनि ल्याएका छन्,’ उनले भने, ‘हामीलाई भनेर सामान बिक्री गर्नको लागि छुट्टै ठाउँ तोकेका छन् । ग्राहक त्यही आएर लैजान्छन् ।’ एकै जनाले सात/आठ वटासम्म पनि डोकाडाला किनेर लैजाने गरेको उनले बताए ।