काठमाडौँ। राष्ट्रिय जनमोर्चासँग दुई बुँदे सहमति भएपछि लुम्बिनी प्रदेशमा एमालेलाई सरकार बनाउन सहज भएको छ।
साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेशमा सत्ता सहकार्यका लागि तीन बुँदे सहमति भएको थियो।
प्रदेशसभामा दुई वामपन्थी दल मिलेर मात्र सरकार नबन्ने देखिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसँग बुधबार सहमति गरेका थिए।
सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेशमा सरकार गठन र त्यहाँको विकास निर्माण कार्यमा सहकार्य गर्ने उल्लेख छ। दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमन विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ।
एमाले र नेकपाबिच भएको सहमति अनुसार लुम्बिनी, बागमती र कोशी एमालेको भागमा परेका थिए भने सुदूरपश्चिम र कर्णाली नेकपाको भागमा परेका थिए। एमालेप्रति अनुदार देखिएका महामन्त्री सिंह सत्ता सहकार्यको सहमति पत्रमा हस्ताक्षर गर्न तयार हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सिंहलाई सहमतिमा ल्याउन संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले निकै मेहनत गरेको दाबी गरे। सिंहसँग सत्ता सहकार्य गर्ने मात्र नभई वामपन्थी एकताकै विषयमा गम्भीर छलफल भएको जिकिर गर्दै ज्वालाले भने, ‘लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन सबैभन्दा बढी हामीले मेहनत गरेका छौँ। माधवजी उहाँकै घरमा गएर राष्ट्रियता, संविधान र गणतन्त्रको रक्षा, वामपन्थीबिच सहकार्य र एकताको विषयमा छलफल भयो।’
वार्ता प्रक्रियाबारे थप स्पष्ट पार्दै उनले भने, ‘प्रचण्डजीले पनि पटक पटक संवाद गर्नुभएको थियो। उहाँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा पनि सहभागी हुनुभयो।’
अहिले ८३ सदस्यीय प्रदेश सभा रहेको लुम्बिनी प्रदेशमा एमालेको २९ र नेकपाको सभामुखसहित १३ सिट रहेको छ। सभामुख मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएकाले दुई दलको जोडले मात्र सरकार बनाउन एक सिट अपुग हुन्थ्यो।
सरकार बनाउन चार सिट रहेको राप्रपा तथा तीन-तीन सिट रहेका जसपा नेपाल र जनमत पार्टीसँग भएको छलफल सकारात्मक देखिएको थिएन।
बहुमतका लागि ४२ सिट आवश्यक पर्ने लुम्बिनीमा जनमोर्चासँग सहमति भएपछि सरकार बनाउन कुनै समस्या नदेखिएको ज्वालाले बताए। उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सरकार बनाउन सहज भएको छ भने बागमतीमा दुई सिट नपुग्ने देखिएकाले अन्य दलहरूसँग छलफल भइरहेको छ।
अन्य प्रदेशको अवस्थाबारे जानकारी दिँदै ज्वालाले अगाडि भने, ‘राजमोसँग सहमति भएपछि लुम्बिनीमा सरकार बनाउने बाटो खुलेको छ। सुदूरपश्चिममा भोलिसम्म नयाँ सरकार बन्छ, कर्णालीमा सरकार बनिसकेको छ। कोसीमा सहमति अनुसार नै प्रक्रिया अगाडि बढिसकेको छ। बागमतीमा दुई सिट नपुग्ने देखिएको छ, त्यसका लागि अन्य दलसँग कुराकानी भइराखेको छ।’
गण्डकी र मधेस प्रदेशमा भने नयाँ सरकार बनाउन आवश्यक सङ्ख्या नपुग्ने भएकाले थप गृहकार्य आवश्यक रहेको उनले बताएका छन्।