बुधबार, भदौ १०, २०८३

दलित बालबालिकाका सवाल र सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

धनगढी– कैलालीको धनगढीमा दलित बालबालिकाका सवाल तथा सरोकारवाला निकायको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम आइतबार भएको छ । दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा भएको कार्यक्रममा दलित बालबालिकाले भोग्दै आएका विभेद, अधिकारको अवस्था तथा राज्यका सम्बन्धित निकायको भूमिकाबारे छलफल गरिएको हो ।
कार्यक्रममा दलित बालबालिकाका तर्फबाट आफ्ना मागसहित ज्ञापनपत्र राशी ताम्राकार र श्रृषा नेपालीले सामाजिक विकास मन्त्री सन्तोषकुमारी शर्मा थापालाई बुझाएका थिए । सहभागीहरूले शिक्षा, सामाजिक सम्मान, समान अवसर तथा जातीय विभेदको अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।
कार्यक्रममा बोल्दै दलित बालबालिका प्रतिनिधि समृति पार्कीले अहिले पनि व्यक्तिको नामभन्दा पहिले जात सोधिने अवस्था रहेको बताइन् । उनले समाजमा विद्यमान जातीय विभेदका कारण दलित बालबालिकाले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै व्यवहारमै समानता कायम गर्नुपर्नेमा जोड दिइन् ।
इन्सेक प्रतिनिधि कृष्ण विकले दलित बालबालिकाका अधिकार सुनिश्चित गर्न राज्यका निकाय, विद्यालय, समुदाय र सरोकारवाला सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोषकुमारी शर्मा थापाले ऐन, कानुनको अवस्था तथा मन्त्रालयको तयारीबारे थप जानकारी लिन बाँकी रहेको बताइन् । विगतमा आफूहरू कक्षाकोठामा प्रवेश गर्नसमेत कठिन अवस्था पार गरेर आएको स्मरण गर्दै उनले अहिले केही सुधार भए पनि बालबालिकामाथि अझै विभेद कायम रहेको स्वीकार गरिन् । विभेद अन्त्यका लागि आवश्यक पहल गर्ने उनको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता दलित महिला संघ कैलालीकी अध्यक्ष सबिना सुनारले गरेकी थिइन् ।