धनगढी । धनगढी उपमहानगरपालिका–१२, जुगेडा डि गाउँ निवासी समाजसेवी युवा नेता रामचन्द्र भट्ट समाजका दुःख, पीडा र आवश्यकतामा निरन्तर साथ दिँदै उदाहरणीय सामाजिक नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्।
निडर स्वभाव, स्पष्ट दृष्टिकोण र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका साथ भट्टले लामो समयदेखि विभिन्न सामाजिक तथा मानवीय अभियानमा सक्रिय योगदान पुर्याउँदै आएका छन्। उनकै नेतृत्वमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालनमा रहेको छ भने जुगेडा युवा क्लबमार्फत सामाजिक, मानवीय तथा सामुदायिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
समाजसेवा भाषण र नारामा मात्र सीमित नभई आवश्यकता परेको समयमा व्यवहारमै देखिनुपर्छ भन्ने मान्यताका साथ भट्टले अहिले ‘घरदेखि घाटसम्म निःशुल्क सेवा’ सञ्चालनमा ल्याएका छन्। शोकमा परेका परिवारलाई अन्तिम संस्कारका लागि आवश्यक पर्ने ट्र्याक्टर सेवा तथा दाउरा निःशुल्क उपलब्ध गराउने व्यवस्था सुरु गरिएको हो।
आर्थिक तथा भौतिक अभावका कारण अन्तिम संस्कारमा समेत कठिनाइ भोग्नुपर्ने परिवारलाई लक्षित गरी सुरु गरिएको यो सेवाले दुःखको समयमा परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी विपन्न तथा असहाय परिवारका लागि यस्तो सहयोग निकै महत्वपूर्ण हुने स्थानीयको भनाइ छ।
ज्येष्ठ नागरिकको सम्मानदेखि युवालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने अभियान र दुःखमा परेका परिवारलाई घरदेखि घाटसम्म साथ दिने सेवासम्म भट्टको नेतृत्वमा भइरहेका गतिविधिले सामाजिक सेवाप्रतिको सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।
पदभन्दा सेवा ठूलो, परिचयभन्दा कर्म ठूलो र भाषणभन्दा व्यवहार शक्तिशाली हुन्छ भन्ने भावनालाई आत्मसात् गर्दै अघि बढाइएको यो अभियानले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै रूपान्तरण गर्ने प्रयास गरेको देखिन्छ। समाजमा आवश्यक परेको समयमा आफ्ना साधन, स्रोत र समय समर्पण गर्ने यस्तो अभियान नयाँ पुस्ताका लागि समेत प्रेरणादायी बन्न सक्ने देखिन्छ।