बुधबार, भदौ १०, २०८३

भोटेकोशीको बाढीबारे विज्ञको आशंका : हिमपहिरो वा हिमताल विस्फोट

काठमाडौँ — काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं जलवायु अनुसन्धानकर्ता रिजनभक्त कायस्थले हिमपहिरो खसेर खोला थुनिएकोले भोटेकोशीमा बाढी आएको प्रारम्भिक आकलन गरिएको बताए ।

कान्तिपुरसँगको कुराकानीमा प्राध्यापक कायस्थले प्रारम्भिक आकलन तथा नेपाल र चीनका वैज्ञानिकसँग भएको छलफलका आधारमा ल्हेन्दे खोलामा हिमपहिरो खसेर खोला थुनिँदा बाढी आएको देखिएको जानकारी दिए । प्राध्यापक कायस्थले भने, ‘नेपालको तर्फबाटै हिमपहिरो आएर लेन्देखोला थुनिएको भन्ने छ । त्यही टाइममा तिब्बतपट्टि भूकम्प पनि गएको छ ।’ अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बिहान ८:३७ बजे गोसाईंकुण्डबाट करिब ४७ किलोमिटर उत्तरतर्फ तिब्बतको भूभागमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

पहिले पनि त्यही ठाउँमा हिमतालहरू फुटेकाले हिमताल पनि फुटेको हो कि भन्ने जानकारी आउन केही दिन लाग्ने उनले बताए । यसअघि गत वर्ष असार २४ गते भोटेकोशीमा आकस्मिक बाढी आएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमताल विस्फोटबाटै रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको निष्कर्ष निकालेको थियो । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको थियो ।