शनिबार, बैशाख १२, २०८३

क्याप्टेन उप्रेतीको ‘पाइलट प्रेम’ उपन्यास विमोचन

धनगढी– क्याप्टेन बेदप्रकाश उप्रेतिद्धारा लिखित उपन्यास ‘पाइटल प्रेम’ को विमोचन गरिएको छ ।

पाइलटको जिवनीको सत्यतथ्य घटनालाई समेटेर लेखिएको सो उपन्यासको शनिबार त्रिभुवन विश्वविद्यालयका सामाजिक शास्त्री तथा डिन प्रेमराज पन्त, आमा सरस्वति उप्रेतीले संयूक्त रुपमा विमोचन गरेका हुन् ।

सो अवसरमा बोल्दै पन्तले सत्यमा आधारित उपन्यासले पाइलटको जिवनीलाई नजिकबाट समाजलाई चिनाउने प्रयास गरेको बताए । उनले भने –‘हामीले प्लेन उडेको र ल्याण्ड भएकोमात्र देखेका छौं । यो पुस्तकले पाइलटहरुको जिवनी, उनीहरुका चुनौति, उनीहरुले देखेका रोमाञ्चक संसार लगायतलाई उपन्यासले व्याख्य गरेकोले समाजलाई पनि यसलाई सहजै महशुष गराउन मद्दत पुग्ने छ ।’

उपन्यास विमोचनका टिप्पणीकर्ता सिताराम भट्टले पाइलटको नाम्चेबजारदेखि शुरु भएको उपन्यासले विश्वनै देखाएको बताए । उनले भने –‘उपन्यास आशावादी, जिवनवादी, राष्ट्रवादीमा आधारित देखिन्छ । यसले एउटा पात्र प्रेममामात्र नभई वियोगमा कसरी जिवन रोमाञ्चक शैलीमा बाँच्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ ।’ उनले उपन्यास सत्य र कल्पनामा आधारित रहेको पनि देखिएको बताए ।

‘सत्य यसमा प्लेन दुर्घटना, पाइलटको प्रेम कथा, पाइलटले विद्यार्थीकालदेखि भोगेका चुनौति थुप्रै छन् । तर, कतिपय काल्पनिक कुराहरु पनि समेटिएका देखिन्छन् ।’

टिप्पणीकार कमलराज जोशीले पनि अहिलेका युवाहरुमा बढ्दै गएको निराशा, कुण्ठालाई मार्ने र केही गर्न उपन्यासले हौसला प्रदान गर्ने बताए ।

क्याप्टेन उप्रेतीले आफ्नो १३ औं कृतिको रुपमा पाइलट प्रेम उपन्यास लेखेका हुन । यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरु समेटिएको उनले बताए । उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको उनले जानकारी दिए । यसैगरी, १० प्रतिशत काल्पनिक कुररु राखिएका छन् । उनले भने, ‘यो उपन्यास पाइलट अध्ययन गर्ने विद्यार्थीलाई मार्गदर्शनसमेत हुने छ ।’ उप्रेतीले उपन्यासभित्र समेटिएका कथा आफ्नोभन्दा पनि अरुको रहेको बताए । उनले छिट्टै आफनो बायोग्राफिमा आधारित अर्को पुस्तक ल्याउने तयारीमा रहेको बताए ।