कैलालीको घोडाघोडी नगरपालिका–९, सिमली जंगलमा पछिल्लो दुई सातादेखि रहस्यमय गतिविधि भइरहेका छन् । स्थानीय बासिन्दाका अनुसार, ‘रेन्बो ग्यादरिङ्ग’ नामको समूहले सिमली जंगलमा करिब सत्तरी जना विदेशी नागरिकलाई साथमा लिएर टेन्ट गाडेर बसेका छन् ।
स्थानीयहरूले यस समूहको गतिविधि शंकास्पद रहेको बताउँदै आएका छन् । उनीहरूका अनुसार, ती विदेशी नागरिकहरूले बाहिरी व्यक्तिहरूलाई आफूहरूको क्षेत्रमा प्रवेश गर्न दिँदैनन्, मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन्, गाँजा सेवन गरिरहेका छन् र निर्वस्त्र भएर नाचगान लगायतका गतिविधि गरिरहेका छन् । घोडाघोडीको ओजुवा क्याफेका संचालक डबल शाहले उक्त विदेशी नागरिकहरुको समुहलाई सहजिकरण गरिरहेका छन् ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, ती विदेशी नागरिकहरू दिनभर जंगलमा विभिन्न गतिविधिमा संलग्न रहन्छन् । उनीहरू बसिरहेको जंगल क्षेत्रमा ःमोबाइल फोनको प्रयोगमा पूर्ण रोक लगाइएको छ । उनीहरु गाँजा सेवन र अन्य लागूऔषधको प्रयोग गर्दै निर्वस्त्र भएर नाचगान तथा विभिन्न अनौठा गतिविधिहरू गरिरहेका हुन्छन् । यसकिसिमका क्रियाकलापले स्थानिय समुदायका नागरिकहरु रनभुल्लमा छन् ।
विदेशी नागरिहरुलाई सहजीकरण तथा यी गतिविधीका लागि वातावरण बनाइरहेका रेन्वो फेमिलिका स्थानीय सम्पर्क ब्यक्ति डवल शाहले यो अनलाइनबाट तय हुने अनौपचारिक जमघट भएको बताए । उनले आफुहरुले लिखित रुपमा कतै बाट अनुमती नलिएपनि जानकारी गराएको जिकिर गरे ।
घोडाघोडी नगरपालिका क्षेत्रमा पर्ने जंगलमा भैरहेको गतिविधीलाई आफुहरुले अनुमती नदिएको नगरपालिकाका प्रमुख खडक रावतले बताए । उक्त समुह त्यहा आएर बसिसके पछीे भने जानकारी आफुहरुलाई आएको नगर प्रमुख रावतले बताए । अनुमति लिनुपर्ने निकायबाट अनुमती लिएरै नेपाल प्रवेश गरेको अनुमान आफुहरुले गरेको प्रमुख रावतको धारणा छ ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख गोगनबहादुर हमालले भने, हामीले यस घटनालाई गम्भीर रूपमा लिएका छौ ं। यदि कानुन उल्लंघन भएको पाइएमा तुरुन्त कानुनी कारबाही गरिनेछ ।’ प्रमुख जिल्ला अधिकारी हमालले बिदेशी नागरिहरु गलत मनसायले वा गैर कानुनी ढंगले प्रवेश गरी गैर कानुनी क्रियाकलापमा सहभागी भएको पाइएमा नेपालको कानुन अनुसार अध्यागमन विभागले समेत ती विदेशी नागरिकहरूको भिसा स्टेटस जाँच गर्ने उनीहरूले पर्यटक भिसाको दुरुपयोग गरेको पाइएमा, उनीहरूलाई नेपालबाट निष्कासन गर्न सकिने कानुन भएकोले सोही अनुसार हुने बताए ।
ईलाका प्रहरी कार्यलय सुखड कैलालीका प्रहरी प्रमुखका अनुसार, सिमली जंगलमा रहेका विदेशी नागरिकहरूको गतिविधिबारे जानकारी संकलन भइरहेको छ ।
रेन्बो ग्यादरिङ्ग के हो ?
रेन्बो ग्यादरिङ्ग विश्वभर नै चर्चित एक अनौपचारिक समुदाय हो, जसले ‘प्राकृतिक जीवनशैली’ अपनाउने नाममा जंगल, पहाड वा अन्य दुर्गम क्षेत्रमा भेला हुने गर्छ । उनीहरू प्रकृतिसँग सामिप्यता बढाउने, स्वतन्त्रता मनाउने, आध्यात्मिक ध्यान गर्ने र कुनै निश्चित नियमबिना खुला रूपमा बस्ने गर्छन् । तर, विभिन्न देशमा रेन्बो ग्यादरिङ्गका नाममा लागूऔषधको प्रयोग, सार्वजनिक मर्यादाविरुद्धका गतिविधि, जंगली क्षेत्रको दोहन जस्ता कारणले विवाद उत्पन्न हुने गरेको छ ।
कानुनी पक्षः नेपालमा यस्तो गतिविधि वैध छ कि अवैध ?
नेपालको प्रचलित कानुनअनुसार, निम्न कानुनी धाराहरू उल्लंघन भएको देखिन्छः
लागूऔषध नियन्त्रण ऐन, २०३३
नेपालमा गाँजा (क्यानाबिस) लगायतका लागूऔषध उत्पादन, बिक्री, र सेवन पूर्ण रूपमा गैरकानुनी छ । ती विदेशीहरूले गाँजा सेवन गरिरहेका छन् भने, उनीहरूलाई लागूऔषध दुरुपयोगको कसूरमा कारबाही हुन सक्छ ।
सार्वजनिक मर्यादा तथा शिष्टाचार ऐन, २०१७ नेपालमा सार्वजनिक रूपमा निर्वस्त्र हुनु, अश्लील गतिविधि गर्नु, वा समाजमा अशान्ति सिर्जना गर्नु दण्डनीय अपराध हो ।
विदेशी नागरिक ऐन, २०१६ नेपालमा कुनै पनि विदेशी नागरिकले प्रशासनको स्वीकृति बिना ठूलो भेला वा कार्यक्रम सञ्चालन गर्न पाउँदैन । कैलाली जिल्ला प्रशासन कार्यालयका प्रमुख गोगन हमालका अनुसार, उक्त कार्यक्रमका लागि कुनै आधिकारिक अनुमति लिइएको छैन ।
नेपालमा विदेशी नागरिकहरूले कुनै पनि गतिविधि गर्नुअघि स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूबाट अनुमति लिनुपर्छ । तर, रेन्बो ग्यादरिङ्गका नाममा सिमली जंगलमा भइरहेको गतिविधिले नेपालको कानुन उल्लंघन गरेको देखिन्छ ।
यस विषयमा तत्काल प्रशासनले कारबाही नगरेमा, स्थानीय समुदायको सुरक्षामा गम्भीर असर पर्ने सम्भावना छ। स्थानीय नागरिकहरूको मागअनुसार, सम्बन्धित निकायहरूले तुरुन्त छानबिन गरी आवश्यक कानुनी कदम चाल्न जरुरी देखिन्छ ।