कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले झण्डै डेढ दशकपछि स्ववियु निर्वाचनमा विजय प्राप्त गरेको छ। निर्वाचन समितिका प्रमुख खेमराज पन्तका अनुसार, स्ववियु सभापतिमा नेविसंघका दीपकराज भट्ट ५३३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४२५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत प्राप्त गरेका छन्।

यस्तै, सचिवमा देवेन्द्र बोहरा ५५४ मत र कोषाध्यक्षमा सन्चिताकुमारी चौधरी ५६९ मत प्राप्त गरी विजयी भएका छन्। यी दुबै नेविसंघ नेतृत्वको प्यानलका उम्मेदवार थिए। दुई हजार एक सय विद्यार्थी रहेको उक्त क्याम्पसमा मंगलबार भएको मतदानमा एक हजार ४०३ मत खसेको थियो।

यसअघि ऐश्वर्य बहुमुखी क्याम्पसमा तीन पटक स्ववियु निर्वाचन भएको थियो। १५ वर्षअघि भएको निर्वाचनमा नेविसंघका राजेन्द्र भट्ट सभापति निर्वाचित भएका थिए। दोस्रो निर्वाचनमा राप्रपा निकट विद्यार्थी संघका कमल बम विजयी भए, जबकि नेविसंघले अन्य पदमा विजय हासिल गरेको थियो। तेस्रो निर्वाचनमा अनेरास्ववियु विजयी भएको थियो।
डेढ दशकपछि नेविसंघको जितको बारेमा कैलालीका अध्यक्ष मनिश कुँवरले ऐतिहासिक जितको रूपमा प्रतिक्रिया दिएका छन्।