बाजुरेली समाज धनगढीले आफ्नो स्थापना दिवसको अवसरमा यहि असार १५ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। शनिबार बसेको समाजको बैठकले रक्तदानमार्फत समाजिक उत्तरदायित्व निर्वाह गर्ने निर्णय गरेको हो।
समाजका सचिव हर्क ओलीका अनुसार कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कैलाली कार्यालयमा बिहान ८ बजे सुरु हुनेछ। ओलीले भने, “बजारमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै समाजले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। सबैलाई यसमा सहभागिता जनाउन आग्रह गर्दछौं।”
समाजका अध्यक्ष भरत केसीले “रक्तदान जीवनदान” भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रमलाई फरक शैलीमा भव्य रूपमा आयोजना गरिने बताए। उनले सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई रक्तदान कार्यक्रममा सहभागी भइ सफल बनाउन आह्वान गरे।
बैठकले समाजको भवन निर्माण प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। समाजको आफ्नै जमिन धनगढी उपमहानगरपालिका वडा नं. ५, शिवनगरमा रहेको छ, जहाँ हाल एक कोठे भवन मात्र रहेको छ।