मङ्लबार, जेष्ठ १२, २०८३

दार्चुलामा अनुदान हत्याउन मेयरका छोराले सचिव र कोषाध्यक्ष ‘मृत’ घोषणा गरेपछि…

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान हत्याउने उद्देश्यले सचिव र कोषाध्यक्षको ‘मृत्यु भइसकेको’ झुटो सूचना दिएर बैंक खाता नवीकरण गराउने प्रयास भएको खुलासा भएको छ।

शैल्यशिखर नगरपालिका–६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका अध्यक्ष जनक सिंह धामीले समूहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भइसकेको उल्लेख गर्दै नगरपालिकाको कृषि शाखामा पत्र बुझाएका थिए। उक्त पत्रका आधारमा कृषि शाखाका प्राविधिक दिपकराज विष्टले ग्लोबल आइएमई बैंक गोकुलेश्वर शाखालाई खाता नवीकरणका लागि सिफारिस पत्र पठाएका थिए।
बैंकलाई पठाइएको पत्रमा भनिएको छ, “श्री मालिकार्जुन अगुवा कृषक समूहको खाता नवीकरण गर्नुका साथै साविकका कोषाध्यक्ष जानकी धामी र सचिव मन्जु धामीको मृत्यु भएकाले अब नयाँ अध्यक्ष जनक सिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षरबाट खाता सञ्चालन हुनेगरी नवीकरण गरिदिन अनुरोध छ।”

तर, वास्तविकतामा सचिव र कोषाध्यक्ष दुवै जीवित रहेको र उनीहरूले समूहसँग असहयोग गरेको आरोपमा अध्यक्ष धामीले झुटो मृत्युको सूचना पठाएको खुलेको छ। नगर प्रमुख विजय सिंह धामीका छोरा समेत रहेका जनक सिंह धामी हाल शैल्यशिखर नगरपालिका भेटेनरी शाखामा नाप्रासका रूपमा कार्यरत छन्।