मङ्लबार, जेष्ठ २६, २०८३

कैलाली भन्सारको राजस्व संकलन लक्ष्य कमजोर

शेर बहादुर ऐर
धनगढी– कैलाली भन्सार कार्यालयको राजस्व असुल चार वर्षपछि सुधार भएपनि लक्ष्य भेटाउन सकेको छैन । त्रिनगर भन्सार नाकाबाट आयात र निर्यात हुने मालवस्तु आयात बढेसंगै उक्त कार्यालयबाट संकलन हुने भन्सार राजस्व बढेपनि लक्ष्य भेटाउन सकेको छैन । २०७८/७९ बाट भन्सार राजस्व असुली निरन्तर ओरालो लाग्दै गएकोमा २०८१/८२ बाट बढ्न थालेको छ ।
गत आर्थिक वर्षमा आर्थिक वर्ष २०८०/८१ को भन्दा ७५ करोड १७ लाख ३२ हजार रुपैयाँले बढी भन्सार राजस्व संकलन भएको छ । जिल्ला भन्सार कार्यालय कैलालीको तथ्यांकअनुसार गतवर्ष आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०७९/८० आठ अर्ब २९ करोड ६३ लाख एक हजार रुपैयाँ असुल भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत प्रकाश तिमिल्सीनाले बताए ।

यसैगरी, आर्थिक वर्ष २०७८÷७९ मा ११ अर्ब ७२ करोड ३९ लाख १७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा नौ अर्ब ५८ करोड २६ लाख ५० हजार रुपैयाँ भन्सार राजस्व असुल भएको थियो । आर्थिक वर्ष ०७८/७९ भन्दा ०७९/८० मा एक अर्ब २८ करोड ६३ लाख ४९ हजार रुपैयाँ कम राजश्व संकलन भएको थियो ।
गतआर्थिक वर्ष जस्तै चालुआर्थिक वर्ष २०८२/८३ मा समेत आर्थिक गतिविधि बढ्दै गएकोमा यसवर्ष २०७८/७९ कै तुलनामा राजश्व संकलन हुने अनुमान गरिएको छ । गतआर्थिक वर्षमा राजस्व संकलन बढेपनि लक्ष्य पुरा नभएकोले भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई घटाएर नौ अर्ब ७१ करोड १५ लाख छ हजार रुपैयाँको लक्ष्य दिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा लक्ष्य भन्दा आठ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको थियो । तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ ।
उक्त वर्षपछि कैलाली भन्सार कार्यालयको राजस्व असुली निरन्तर ओरालो लागेको थियो ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत प्रकाश तिमिल्सीनाले आयात बढेको हुँदा राजस्व संकलन समेत बढेको बताए । अघिल्ला आर्थिक वर्षको भन्दा बढि नै मालबस्तुहरु आयात भएको बताउँदै उनले चोरी पैठारी नियन्त्रणमा कडाई गरिएको पनि भन्सारबाट आयात बढेको बताए ।