शेरबहादुर ऐर
धनगढी– सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक पनि कार्यक्षेत्र हो । तर, अहिले सोही मन्त्रालयमा सेवाग्राही तथा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष छैन ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले २०७६ साल माघ २१ गते मन्त्रालय तथा मातहातका निकायमा पत्र पठाउँदै स्तनपान कक्ष स्थापना गर्न निर्देशनसहितको पत्र पठाएको थियो । भनिएको थियो –‘सुदूरपश्चिम प्रदेश अन्तरगतका सबै स्थानीय तह र सेवाग्राहीहरुको बढी आवतजावत हुने सार्वजनिक निकायहरुमा स्तनपान कक्ष निर्माण गरी सेवा प्रवाह गराउनु ।’ सोही अनुसार सामाजिक विकास मन्त्रालयले २०७६ माघमा स्तनपान कक्ष स्थापना गरेको थियो । तर, अहिले भने भवन अभाव देखाउँदै सो कक्ष हटाइएको छ ।
मन्त्रालयकी वरिष्ठ महिला अधिकृत जयन्ती गिरीले मन्त्रालयले स्तनपान कक्ष राख्न चाहेको बताइन । ‘हामीले मन्त्रालयमा स्तनपान कक्ष स्थापना गरेका थियौं । कर्मचारी र जनप्रतिनिधि थप हुँदै गएपछि कार्यकक्ष चाहिएको थियो । अहिले सो कक्ष बन्द गरि त्यहाँ मन्त्रालय मातहातको शाखा र महाशाखा बसाउनुपरेको छ’ उनले भनिन –‘स्तनपान कक्षनै नराखेको मन्त्रालयले अन्य निकायलाई अनिवार्य स्तनपान कक्ष राख भनेर पत्राचार गर्न पनि समस्या भयो ।’
धनगढी उपमहानगरपालिकाले २०७६ असारमा कार्यालयको मुल भवनको उत्तरपट्टि सूचना केन्द्र संगै स्तनपान कक्ष निर्माण गरेको थियो । कार्यालयमा स्तनपान गर्ने उमेरका बच्चा भएका महिला कर्मचारी र बच्चासहित बिभिन्न कामका लागि उपमहानगरपालिकामा पुग्ने महिला सेवाग्राहीका लागि स्तनपान गराउने गरेका थिए । तर, धनगढी उपमहानगरपालिका नयाँ प्रशासनिक भवनमा २०७९ साल असारमा सारियो । अहिले सोही भवनमा स्तनपान कक्ष राखिएको छ तर, प्रयोगविहिन रहेको जनाइएको छ ।
धनगढीकी उपप्रमुख कन्दकला रानाले धनगढीले स्तनपान कक्ष राखेको तर, प्रयोगविहिन रहेको बताइन । उनले भनिन –‘महिला सेवाग्राही र कर्मचारीलाई लक्षित गरेर स्तनपान कक्ष राखिएको छ । तर, त्यहाँ कोही जाँदैनन ।’ धनगढीले स्तनपान कक्ष राखेको क्षेत्र सेवाग्राही महिलाहरुले नदेख्दा सो कक्ष प्रयोगविहिन भएको जनाइएको छ ।
निश्चित अवधिको सुत्केरी विदापछि महिला कर्मचारीहरुले काममा फर्किनु पर्दा कार्यालयमा सेवाग्राही र पुरुष कर्मचारीका वीच बसेर स्तनपान गराउन समस्या हुन थालेपछि हरेक कार्यालयमा छुट्टै स्तनपान कक्ष आवश्यक रहेको भन्दै यसको निर्माणका लागि अधिकारकर्मीहरुले पहल गरिरहेका थिए ।
सार्वजनिक निकाय मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय धनगढी, प्रदेश सरकार मातहातका निकाय, स्वास्थ्य कार्यालय, श्रम तथा रोजगार कार्यालय लगायतमा अहिले पनि स्तनपान कक्ष स्थापना गरिएको छैन । सार्वजनिक निकायमा स्तनपान कक्ष स्थापना नहुँदा महिला सेवाग्राहीहरुले समस्या भोग्ने गरेका छन ।
सामाजिक विकास मन्त्रालयकी मन्त्रालयकी वरिष्ठ महिला अधिकृत जयन्ती गिरीले भनिन –‘अहिलेसम्म कुन र कति कार्यालयमा स्तनपान कक्ष राखिएको छ भन्ने अभिलेख छैन । हामीलेनै राखेका छैनौं भने अरुलाई पनि राख्न भन्न सकिदैन ।’
स्तनपान सप्ताह शुरु
आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ । सुदूरपश्चिम प्रदेशमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो ।
बालबालिकालाई ६ महिना पूरा नभएसम्म आमाको दूध अनिवार्य रुपमा खुवाउनुपर्ने र पूर्ण स्तनपान गराउनुपर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ ।
तर, प्रदेशमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको संख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ । विशेषगरी शिक्षित आमाहरूमा नै पूर्ण स्तनपान नगराउने दर बढी रहेको जनाइएको छ ।