लगातारको वर्षापछि दोधाराचाँदनी नगरपालिकामा रहेका सशस्त्र प्रहरीका दुई बोर्डर आउट पोस्ट (बीओपी) सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा नं. १० सुन्दरनगर र वडा नं. ७ कञ्चनभोजस्थित बीओपीका सुरक्षाकर्मी डुबानको जोखिमका कारण विस्थापित भएका हुन्।
सुन्दरनगर बीओपीका सुरक्षाकर्मी नजिकैको ओमकार आधारभूत विद्यालयमा र कञ्चनभोजका सुरक्षाकर्मी सशरी खोप केन्द्रमा सारिएका छन्। सशस्त्र प्रहरी झलारीस्थित ३५ नं. गणका प्रमुख एसपी लोकेन्द्र भट्टका अनुसार सुरक्षाकर्मीहरू सुरक्षित स्थानमा सारेर बाढीबाट प्रभावित व्यक्तिहरूको उद्धारमा खटिएका छन्।
प्रहरीका अनुसार जोगबुढा नदीको बहाव बढेपछि दोधाराचाँदनी नगरपालिका–१० शान्ति टोलका १० परिवार, वडा नं. ८ रामपुरे टापु र जर्गा टोलका २५ परिवार, वडा नं. ३ पटेराखल्लाका १५ परिवार विस्थापित भएका छन्। यसैगरी भीमदत्त नगरपालिका–११ चौकिसोतामा पनि ५ परिवार विस्थापित भएका छन्। सबैलाई नजिकैको विद्यालयमा सारिएको छ।
जोगबुढा नदीमा पानीको बहाव बढ्दै गएपछि थप सावधानी अपनाउन सुरक्षाकर्मी र स्थानीय प्रशासनले निरन्तर निगरानी र उद्धार कार्य जारी राखेको छ।