धनगढी –
लगातारको वर्षा पछि सहजपुर–विपिनगर सडकखण्ड अन्तर्गत खड्का खोलानजिक ठूलो पहिरो खस्दा विगत तीन दिनदेखि सवारीसाधन सञ्चालन अवरुद्ध भएको छ। सडक अबरुद्ध भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन रोकिनुका साथै स्थानीयवासी आवतजावतमा ठूलो समस्या भोगिरहेका छन्। विपिनगर र बोग्टान क्षेत्रमा उत्पादित तरकारी बजारसम्म पुर्न नसक्दा तरकारी कुहिन थालेको किसानहरूले गुनासो गरेका छन्।
स्थानियका अनुसार सडक डिभिजन कार्यालय कञ्चनपुर र कुलपाते दिपायल अन्तर्गतका निकायले कुनै चासो नदिँदा समस्या झनै चर्किएको हो।
चुरे गाउँपालिकाका समाजसेवी करन साउँदको पहल र समन्वयमा चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी तथा बडिकेदार गाउँपालिका अध्यक्ष भैरव साउँदको सहयोगमा आजदेखि पहिरो पन्छाउने कार्य सुरु गरिएको छ।

स्थानिय कमल बहादुर रानामगरले भने, “हिजो मात्रै भारतबाट एउटा लास ल्याएर धाउनुपर्यो, बाटो बन्द हुँदा निकै कठिन भयो।”
त्यसैगरी कल्पना देवी विष्टले भनिन्, “डराउँदै–डराउँदै हिँड्नुपर्ने अवस्था छ, सरकारले छिटो मर्मत गरिदिए सहज हुने थियो।”
निगालीबाट धनगढी जाँदै गरेका महासिंह नेपालीले पनि यात्रामा कठिनाइ भएको बताउँदै, “खसेको पहिरो तत्काल पन्छाएर बाटो खुलाइदिनुपर्छ,” भने।

स्थानिय पदमराज भट्टले भने, “दैव संयोगले बाँचेर पुगेका छौँ। सडक डिभिजनले चासो नदिँदा हामी दुःख पाएका छौँ,” भन्दै आक्रोश पोखेका छन्।
सडक अवरुद्ध हुँदा सर्वाधिक समस्या किसानलाई परेको समाजसेवी करन साउँदले बताए। उनका अनुसार, “तरकारी बजारसम्म पुर्न नसक्दा कुहिएको छ। चुरे, बोग्टान, बडिकेदार र जोरायल क्षेत्रका जनता यो सडकबाट लाभान्वित हुने गरेका छन्, तर अहिले सबैभन्दा धेरै पीडामा किसान परेका छन्।”

उनले थपे, “पहिरो आएको जानकारी पाएपछि कञ्चनपुर स्थित सडक डिभिजन कार्यालयका निर्देशकलाई सम्पर्क गर्दा खासै चासो नदिएको देखियो। आगामी दिनमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।”
हाल वर्षा लगातार जारी भएकाले पहिरो पन्छाउने काममा कठिनाइ भए पनि अवस्था हेरेर काम थालिएको जनाइएको छ। यस समस्याप्रति स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान तत्काल पुग्नुपर्ने आवश्यकता देखिएको छ।