धनगढी,१८ भदौ । सामाजिक कलङ्कका रूपमा रहेको छाउपडी प्रथा हटाउन ऐन कानुन बने पनि उन्मूलन हुन सकेको छैन । विद्यालयमा अध्ययन गर्ने छात्रासमेत छाउपडी प्रथाको सिकार हुने गरेको पाइएको छ ।
छाउ भएका बेला गोठ वा घरको भुइँतलामा बस्ने चलन कायमै छ । महिनावारीलाई मर्यादित र सरसफाइयुक्त बनाउन विद्यालयमा वितरण गर्न खरिद गरिएका सेनेटरी प्याड भने स्थानीय तहको गोदाममा थन्किने गरेका पाइएको छ । बैतडीका १० वटा स्थानीय तहले हरेक वर्ष एक करोड रुपियाँ बराबरका सेनेटरी प्याड खरिद गर्ने भए पनि वितरण नगरी गोदाममा थन्काएर राख्ने गरेको पाइएको छ । सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ को दफा ५ मा पालिकाले खरिद गरेका सेनेटरी प्याड त्रैमासिक, चौमासिक र अर्धवार्षिक रूपमा वितरण गर्नुपर्ने उल्लेख भए पनि अधिकांश पालिकाले वर्षको अन्त्यमा बजेट सक्नकै लागि खरिद गरेर गोदाममा थन्याउने गरेको पाइएको छ ।
गुणस्तर कमजोर
सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीलाई वितरण हुने सेनेटरी प्याड गुणस्तरीय नभएको गुनासो आउने गरेका छन् । स्थानीय तहले खरिद गरेका सेनेटरी प्याड रजस्वलाको विकार सोस्न नसक्ने खालका भएको छात्राको गुनासो छ ।
सेनेटरी प्याडसम्बन्धी गुनासो बढ्न थालेपछि स्थानीय तहले सोबापतको रकम छात्राकै हातमा पर्ने गरी नगदै वितरण गर्ने गरेर विद्यालयको खातामा रकम निकास गर्न सुझाव दिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । उहाँले छात्रालाई नगदै वितरण गर्न सके पालिकालाई खरिद, ढुवानी, वितरण र गुणस्तरका बारेमा आउने गुनासो कम हुने बताउनुभयो ।