काठमाडौं, १८ भदौ / प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए । उनले सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिएका थिए ।
अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू ९डायलग पार्टनर० हुन् ।
शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए । करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए ।
प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी, पत्रकार लगायत सहभागी थिए ।