सोमवार, जेष्ठ १८, २०८३

सहजपुर–विपिनगर सडक तीन दिनपछि सञ्चालनमा

 

धनगढी –
लगातारको वर्षापछि खड्का खोलानजिक पहिरो खसेर अवरुद्ध भएको सहजपुर–विपिनगर सडक आज तीन दिनपछि सञ्चालनमा आएको छ। सडक अबरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारीसाधन ठप्प भएका थिए भने किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुग्न नसक्दा ठूलो नोक्सानी बेहोर्नुपरेको थियो।

समाजसेवी करन साउँदको पहलमा पहिरो पन्छाउने कार्य सुरु गरिएको हो। सो क्रममा चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले सहजीकरण गरेका छन् भने बडिकेदार गाउँपालिका अध्यक्ष भैरव साउँदले समेत सहयोग गरेका छन्।

सडक डिभिजन कार्यालय कुलपाते दिपायलले आजदेखि उक्त क्षेत्रमा भ्याकु लोडर परिचालन गर्ने जानकारी दिएको छ ।

सडक सुचारु भएपछि विपिनगर, बोग्टान, चुरे, बडिकेदार र जोरायल क्षेत्रका स्थानीयवासीले ठूलो राहत पाएका छन्। स्थानियका अनुसार बाटो खुलेसँगै विद्यालय जाने विद्यार्थी, बिरामी लिएर जाने एम्बुलेन्सदेखि दैनिक यात्रु सबैलाई सहज भएको छ।

वर्षा अझै जारी रहेकाले फेरि पनि पहिरो खस्न सक्ने आशंका प्रबल रहेको र यसतर्फ सरकार तथा सम्बन्धित निकायले दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने माग स्थानीयवासीले गरेका छन्।