धनगढी- कैलाली उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति गठनका लागि तोकिएको निर्वाचन स्थगित भएको छ। भाद्र २८ गतेका लागि तोकिएको साधारण सभा र निर्वाचन देशमा उत्पन्न असहज तथा विषम परिस्थितिका कारण निर्धारित मितिमा सम्पन्न गर्न नसकिने भएकाले संघले स्थगित गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष पुष्पराज कुँवरले भाद्र २६ गते बसेको सर्वपक्षीय बैठक र कार्यसमिति बैठकको सुझावअनुसार साधारण सभा तथा निर्वाचन सारिएको जानकारी दिएका छन्। उनका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेकाले सोसम्मको निर्वाचन प्रक्रिया भने यथावत रहनेछ।
त्यस्तै, निर्वाचन समितिका संयोजक पदमसिंह कुँवरले हाललाई मतदान कार्यक्रम स्थगित गरिएको र दशैं–तिहारको बीच उपयुक्त मितिमा नयाँ तालिका तय गरिने बताए।
संघले साधारण सभा तथा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण पक्षलाई नयाँ मितिमा हुने कार्यक्रमबारे समयमै जानकारी गराउने जनाएको छ।