कञ्चनपुरः ‘जेनजी’ आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चारवटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरियाको गेट, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका र वडा नं १ देखि १२ सम्मका कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय, भीमदत्त नगरपालिका कार्यालयको गेट तथा बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा करोडौँको नोक्सानी पुर्याइएको छ।
व्यापारिक क्षेत्रमा होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा पुनर्वास नगरपालिकाका प्रमुख र प्रशासकीय प्रमुख चढ्ने गाडीसहित १६ वटा सवारीसाधनमा पनि तोडफोड र आगजनी भएको छ। तीमध्ये शववाहन, दमकल, मोटरसाइकल, स्कुटर, ट्याक्टर र रोलर छन्। प्रहरीका अनुसार जिल्लाभर भएका तोडफोड र आगजनीका घटनामा ठूलो मात्रामा सरकारी तथा निजी सम्पत्ति नोक्सानी भएको छ।