जेन–जी आन्दोलनपछि बन्द भएको कञ्चनपुरको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ। भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपालीलाई भारत प्रवेशमा रोक लगाएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आजदेखि नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गराइएको छ। गड्डाचौकीस्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ। प्रहरी प्रवक्ता सागर बोहराले भने, “यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालनमा थियो, आज नाकासम्म विस्तार भएको छ।”
आजदेखि एसएसबीले नेपाली नागरिकलाई परिचयपत्र देखाएर मात्र भारत प्रवेश अनुमति दिएको छ। गत बुधवारदेखि नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको थियो। यसरी नाका खुल्दा व्यापार र आवागमनमा सहजता आएको प्रहरीले जनाएको छ।