शेरबहादुर ऐर
धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय परिषरभित्र सवारीसाधनहरु जलेर नष्ट छन । सवारी साधन राख्न बनाइएको माथिल्लो भाग पनि जलेर नष्ट रहेको छ । प्राङ्गणमा प्लाष्टिक कुर्सी, मोटरसाईकल, आवश्यक कागजपत्र जलेर खरानी जसरी फैलिएको छ । भवनका सिसाहरु फुटेका छन भने रंगरोगन भएको भवन धुवाले कालो बनेको छ । आइतबार कार्यालयमा कर्मचारीहरु उपस्थित त भए तर, कुनै सरसफाई भएन ।
मुख्यमन्त्री कार्यालयमा भेटिएका कर्मचारी भन्दै थिए –‘प्रहरी मुचुल्का तयार नहुँदा कार्यालय परिषर सरसफाई गरिएको छैन ।’ मुख्यमन्त्री कार्यालय भदौ २४ गते भएको आगजनी तथा तोडफोडसंगै लुटपाट पनि भएको उनीहरुको भनाई छ । उनीहरु भन्दै थिए –‘धेरै सामानहरु जलेर नष्ट भयो । आगलागी नभएका क्षेत्रमा रहेका सामानहरु आन्दोलनकारीहरुले चोरी गरेका छन ।’ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको अधिकाँस कक्ष आगलागीबाट क्षतविक्षत भएको भएपनि चार–पाँच कक्ष आगलागीबाट सुरक्षित रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयनै सञ्चालनमा नआएपछि मातहातका कार्यालयहरु सञ्चालनमा पनि अन्यौलता देखिन्छ । आइतबार प्रदेश सरकार मातहात रहेको आर्थिक मामिला मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयले आगलागीबाट भएको क्षतिको विवरण यकिन गरि प्रहरी मुचुल्का तयार गरिरहेको थियो । भौतिक पुर्वाधार मन्त्रालयमा ग्याँस सिलिण्डर पड्काका कारण हाल प्रयोग भइरहेको भवन असुरक्षित रहेको छ । मन्त्रालयले क्षत विक्षत भएको मन्त्रालयको मिटिङग हललाई विभाजन गरेर मन्त्रालयलाई सुचारु गर्ने आन्तरिक तयारी गरेको जनाइएको छ । यद्यपी सोही हल उपयोग ल्याउने वा अन्य स्थानमा तयारी गर्नेबारे अन्यौलता रहेको जनाइएको छ ।
भौतिक पुर्वाधार प्राङ्गणमै नवनिर्मित आर्थिक मामिला मन्त्रालयको भवनभित्र रहेका सरसामानहरु नष्ट रहेको छ । आगलागी पछि बनाइएको मुचुल्कामा क्षतिको यकिन विवरण उल्लेख छैन । तर, मन्त्रालयलाई मर्मत गरि पुनः प्रयोग ल्याउने गरि मन्त्रालय लागिरहेको छ ।
सुदूरपश्चिम सरकारकै सबैभन्दा बलियो अंग हो –‘प्रदेश सभा सचिवालय ।’ हालको जिल्ला समन्वय समितिको भवनमा २०७४ सालमा सञ्चालनमा ल्याइएको प्रदेश सभा सचिवालयले सबैभन्दा ठुलो क्षति व्यहोर्नु परेको छ । प्रदेश सभाको सभाहल, कार्यालय र विभिन्न संसदिय दलको कार्यालयहरु क्षतविक्षत रहेको छ । आइतबार प्रहरीले मुचुल्का तयार गरेको भएपनि यकिन क्षति विवरण तयार पार्न सकेको थिएन ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने –‘प्रदेश सभा सचिवालय प्रयोगविहिनजस्तै बनेको छ । सञ्चालनमा ल्याउन अझै समय लाग्ने छ ।’ उनले सचिवालयमा आगलागीसंगै सामानहरु लुटपाट भएकाले समयमै फिर्ता गर्न सम्बन्धित व्यक्तिहरुसंग अनुरोध गरिएको बताए ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहात रहेको प्रदेश राजपत्र छापाखानाको एक मेसिनमा तोडफोड भएको छ भने एक मेसिन सञ्चालन अवस्थामा रहेको छ । सोही मन्त्रालय अन्र्तगत सञ्चालनमा ल्याइएको प्रदेश आपत्तकालिन कार्य सञ्चालन केन्द्रमा रहेका सामाग्री नष्ट हुँदा विपद प्रतिकार्य र विपद सम्बन्धी अभिलेख तयारी कार्य प्रभावित भएको छ । मन्त्रालयको भवनहरुका सिसाहरु तोडफोड हुनुका साथै फर्निचरहरु नष्ट पारिएको छ । मन्त्रालयका सवारी साधनहरुमा आगजनी भएपछि आइतबार पनि मन्त्रालयले आफनो सेवाहरु सुचारु गर्न सकेको थिएन ।
प्रदेश सरकार मातहात रहेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पनि आगजनीपछि सञ्चालन गर्न सकिने अवस्थामा नरहेको मन्त्रालयहरुले जनाएको छ ।
प्रदेश सरकार मातहात रहेको मन्त्रालयमात्र नभई प्रदेश सरकार मातहातको निकाय मुख्य न्यायधिवक्ताको कार्यालय आगजनीका कारण संरचनामा क्षति पुगेको छ । तर, प्रदेश लोकसेवा आयोग, नीति तथा योजना आयोगमा भएका सामाग्री लुटपाट हुनुका साथै सर–सामानहरु नष्ट गरिएका छन । यी दुई आयोग भाडाको घरमा रहेका कारण आन्दोलनकारीले भौतिक संरचनाको सुरक्षा गर्दै कार्यालयभित्र रहेका सर–सामान लुटपाट गर्नुका साथै बाहिर जलाएर नष्ट गरेको प्रदेश नीति तथा योजना आयोगका सूचना अधिकारी जयराज ओझाले जानकारी दिए ।