सोमवार, जेष्ठ १८, २०८३

टिकापुर नगर प्रमुख र कैलारी गाउँपालिका अध्यक्षद्धारा राजिनामा फिर्ता

धनगढी– कैलालीमा जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल फेसबुकमा पदबाट राजीनामा दिएका नगर प्रमुख र अध्यक्षले राजीनामा फिर्ता लिएका छन् । जिल्लाको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु र कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पदबाट राजीनामा दिएका थिए ।

तर, दुबै जनाले जेनजी प्रदर्शनकारीबाट आएको धम्कीका कारण राजीनामा दिएको बताउँदै अहिले राजीनामा फिर्ता लिइसकेको बताएका हुन् ।

‘जेनजी आन्दोलनको क्रममा मेरो घरमा तोडफोड तथा आगजानी गरी मलाई पनि राजीनामा दिन धम्की आएको र राजीनामा नदिएमा ज्यान मार्ने समेत धम्की आएकोले मैले बाध्य भएर २४ गते सामाजिक सञ्जालमार्फत कैलारी गाउँपालिकाको अध्यक्ष र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइएको थिए,’ कैलारीका अध्यक्ष चौधरीले भने, ‘कैलारी गाउँपालिकाका सार्वजनिक तथा निजी सम्पतीको संरक्षणको लागि कैलारीवासी दाजुभाई, दिदिबहिनी, गाउँसभा सदस्य, राजीनितिक दलबाट राजीनामा फिर्ता लिन अनुरोध भएको हुँदा उक्त राजीनामा फिर्ता लिइएको जानकारी गराउन चाहन्छु ।’

अध्यक्ष चौधरीले गाउँपालिकाका नियमित काम अगाडि बढाउनका लागि सम्पूर्ण कैलारीवासीलाई सहयोग र समन्वयको लागि अनुरोध पनि गरेका छन् ।

टीकापुर नगरपालिकाका नगर प्रमुख थारुले पनि प्रदर्शनकारीले धम्की दिएपछि बाध्य भएर फेसबुकबाट राजीनामा दिएको बताउँदै अहिले काममा फर्किसकेको जानकारी दिए । ‘राजीनामा नदिएपछि टीकापुर नगरपालिका पनि जलाइदिन्छु भन्ने धम्की आयो,’ उनले भने, ‘क्षति कम गर्नका लागि बाध्य भएर राजीनामा दिएको हुँ । आधिकारिक रुपमा कतै राजीनामा नदिएको हुँदा काममा फर्किसकेको छु ।’