सोमवार, जेष्ठ १८, २०८३

सुदूरपश्चिममा चाडपर्व लक्षित सुपथ मुल्य पसलहरु सञ्चालन

शेरबहादुर ऐर/सुदिप थापा
धनगढी– कैलालीसहित सुदूरपश्चिमका ३६ स्थानमा सरकारले सुपथ मुल्य पसल सोमबारदेखि सञ्चालनमा ल्याएको छ । हिन्दुहरुको महान पर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै हरेक वर्षझै यस वर्षपनि सुपथ मुल्य पसल सञ्चालन ल्याइएको हो ।
प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आठ र खाद्यमार्फत २८ गरी ३६ वटा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार कैलालीको तीन, कञ्चनपुरको दुई तथा डोटी, डडेल्धुरा र बैतडीको एक–एक स्थानमा ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन भएको छ । सुपथ मूल्य पसलका लागि नुनको मूल्य २४ रुपैयाँ तोकिएको कुँवरले बताए ।


आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य बस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडपर्वको अवधिभर यस्ता पसल सञ्चालन हुँदै आएका छन् । खाद्यको प्रादेशिक कार्यालयले मोटो र मसिनो चामलसंगै चिनी बिक्रीका लागि २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार खाद्यको सुपथ मूल्य पसलमा हरेक सामाग्रीमा पाँच रुपैयाँ छुटको व्यवस्था रहेको जानकारी दिए । खाद्यले कैलालीको धनगढी, डडेल्धुराको खलंगा, बाजुराको मार्तडी, कोल्टी, धुलीचौर, बिच्छ्याँ, पाण्डुसैन, बझाङको जिल्ला सदरमुकाम, दौलिचौर, थलरा, भातेखोला र तलकोट तथा डोटीको जिल्ला सदरमुकाम र मौवामा सुपथ मूल्य पसल सञ्चालन गरिएको प्रादेशिक कार्यालयका प्रमुख थापाले बताए ।

खाद्य तथा व्यापार कम्पनिले सुपथ मुल्य पसलमा पाइने सामाग्रीको मुल्यसुचिसहित बोर्ड राखेको छ भने साल्ट टे«डिङगले यस वर्ष सरकारले उपलब्ध गराउने सामानसहित दिनेश कम्पनिद्धारा उत्पादित सामाग्री पनि सुपथ मुल्य पसलमा विक्री वितरणका लागि राखेको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सुपथ मुल्य पसल कार्तिक १० गतेसम्म सञ्चालन हुने छ ।