धनगढीस्थित मालपोत कार्यालयलाई यहाँका विभिन्न सहकारी संस्थाहरूले संयुक्त रूपमा ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। मंगलवार मालपोत कार्यालय परिसरमा आयोजित कार्यक्रममा नवजीवन सहकारीका अध्यक्ष देवबहादुर बमले उक्त सहयोग रकम कार्यालय प्रमुख प्रेम दौल्याललाई हस्तान्तरण गरे। कार्यक्रममा सहकारी प्रतिनिधि, कार्यालयका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति थियो।
सहकारी संस्थाका प्रतिनिधिहरूले राज्यका सेवाहरूलाई पारदर्शी, प्रभावकारी र आधुनिक बनाउन निजी तथा सहकारी क्षेत्रले निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिए। उनीहरूले सहयोग रकम कार्यालयको सेवा सुधार, पूर्वाधार विकास तथा विद्युतीय प्रणाली सुदृढीकरणमा उपयोग होस् भन्ने अपेक्षा व्यक्त गरे।
सहयोग ग्रहण गर्दै प्रमुख दौल्यालले भने, “कार्यालय छिटो सञ्चालनमा ल्याउन सहकारी संस्था र नागरिक समाजले चालेको पहलप्रति हामी आभारी छौँ। अझै पनि सहयोगको अपेक्षा छ।”
कार्यक्रमको समन्वय सहकारी संस्थाहरूको साझा पहलमा गरिएको हो। कार्यालयले सहयोग रकम पारदर्शी रूपमा व्यवस्थापन र सदुपयोग गरिने प्रतिवद्धता जनाएको छ।