शेरबहादुर ऐर
धनगढी– बाहिर प्राङ्गण र भवनभित्र सिसाहरु फिजिएका छन । अग्नि नियन्त्रकका सामानहरु तोडफोड गरिएका छन । कुर्सीमा आगजनीको प्रयास भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित करौडौं लगानीमा बनेको धनगढी नगर सभा सञ्चालन नहुँदै प्रयोगविहिन अवस्थामा पुगेको छ ।
भदौं २४ गते जेन–जी समुहको आन्दोलनका क्रममा सरकारी कार्यालयहरु आगजनी र तोडफोडका साथै लुटपाट भइरहेको थियो । सोही क्रममा सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको धनगढी सभा हल पनि प्रदर्शनकारीको निशानामा रहयो । धनगढी नगर सभा निर्माण भएको अढाई वर्षपछि उपमहानगरपालिकालाई हष्तान्तरण गरिएको थियो ।
२०८१ साल फागुन २५ गते भव्य समारोहकाबिच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा हष्तान्तरण गरिएकै कारण सभा हल सो समुहको निशानामा परेको जनाइएको छ । प्रधानमन्त्री ओलीले फागुनमा सभाहल धनगढीलाई हष्तान्तरण गरेको भएपनि सभा हलमा आवश्यक पर्ने सामाग्री साउण्ड सिस्टम, फर्निचर जडान नहुँदा सञ्चालनमा ल्याइएको थिइएन ।
धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले नगर सभामा भएको क्षतिको विवरण माग गरेको तर, अहिलेसम्म जानकारी नआएको बताए । उनले भने –‘शहरी विकास डिभिजन कार्यालयबाट आवश्यक सामाग्री जडान भइरहेको थियो । सभा हलमा जडान गरिएका अग्नि नियन्त्रक तोडफोड भएको छ । भवनका सिसाहरुमा ढुङ्गा हानेर फुटाइएको छ ।’ उनले सभा हल मर्मतका लागि शहरी विकास कार्यालयलेनै नयाँ ठेक्का आह्वान गरि मर्मत गर्ने बताए ।
पौने ३१ करोड रुपैयाँमा निर्माण भएको भवन मर्मतमा के–कति खर्च लाग्ने भन्ने अहिले यकिन भइनसकेको उनको भनाई छ । शहरी विकास डिभिजन कार्यालयले सवा दुई करोडको साउण्ड सिस्टम र भिआइपी फर्निचर जडान कार्य जारी राखेको थियो । तर, धनगढीले सञ्चालन कार्यविधि भने बनाएको छैन । सञ्चालनको मोडालिटी निर्धारण र कार्यविधि बनाउने काम धनगढी उपमहानगरपालिकाको रहेको थियो ।
भदौ २४ गते सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा मातहातका निकाय र संघिय सरकार मातहातका कार्यालयहरुमा आगजनी र तोडफोड भइरहदा धनगढी उपमहानगरपालिकाका संरचना सुरक्षित थिए । तर, पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहकाबिच भवन उपमहानगरपालिकालाई हष्तान्तरण गरेकै कारण आन्दोलनकारीले भवनमा क्षति पु¥याए । यद्यपी सभा हलमा आगजनी प्रयास भने असफल भएको देखिन्छ । सभा हलमा राखिएका कुर्सीमा आगजनीको प्रयास भएको त्यहाँ जलेको अवस्थामा भेटिएका कुर्सीले पुष्टि गर्छ ।
सभाहल निर्माण कम्पनीले ०७९ असारमा सम्पन्न गरी संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरेको थियो । त्यसै बेला इकाईले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने योजना बनाए पनि उपमहानगरपालिकाले फर्निचर र साउण्ड सिस्टम जडान भएपछि मात्रै बुझ्ने अडान लिएपछि सो कार्य हुन सकेको थिएन ।
धनगढी गाउँमा डेढ विघा जमीनमा राष्ट्रिय सभागृहको मोडेलमा नौ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, दुई सय जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा रिहल्सल कक्ष निर्माण गरिएको छ । करिब चार सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ । आयोजना कार्यालयका अनुसार बिजुली–बत्तिसहित तातो–चिसोका लागि एसि तथा हिटर, खानेपानी जडान र गार्डेन डिजाइन लगायत सम्पूर्ण कार्य अढाई वर्ष पहिले भएको थियो ।
सभागृह निर्माण भइसकेको भए पनि साउण्ड सिस्टम र सञ्चालन मोडालिटी तथा कार्यविधिको अभावमा प्रदेश सरकार, स्थानीय सरकारका कार्यक्रमहरु होटल र पार्टी प्यालेसमा भइरहेका छन् । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने ठूला कार्यक्रमहरु सभाहलको अभावमा पार्टी प्यालेस, होटलमा गर्नुका साथै मन्त्रालयको प्रांगणमा टेण्ट लगाएर आयोजना गर्ने गरिएको छ ।
धनगढीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर बनाइएको सभाहल सञ्चालन हुन नसक्दा सरकारी कार्यालयहरुले त्यस्ता कार्यक्रम महंगो भाडा तिरेर पार्टी प्यालेस र होटलमा सञ्चालन गरिरहेका हुन् ।